मुख्य सामग्रीमा जानुहोस्

ट्राफिक प्रहरीमा आर्थिक अनियमितता सहन नगरिने, चालु आर्थिक वर्षमा २५ जनाले जागिर गुमाए

आर्थिक अनियमितता वा प्रहरी आचरणविपरीतको काम गर्ने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट दिइने छैन। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता २५ जना कर्मचारीले जागिर…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
ट्राफिक प्रहरीमा आर्थिक अनियमितता सहन नगरिने, चालु आर्थिक वर्षमा २५ जनाले जागिर गुमाए
Nagariknetwork

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता वा आफ्नो पेसागत आचरणविपरीतको काम गर्ने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट नदिइने बताएका छन्। चालु आर्थिक वर्ष सुरु भएयता यस्ता कार्यमा संलग्न २५ जना प्रहरी कर्मचारीले जागिर गुमाएको उनले जानकारी दिए।

कार्यालयले आइतबार आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख काफ्लेले सडकमा खटिने कर्मचारीले आर्थिक अनुशासन, इमानदारी र आचरणका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे। प्रहरी ऐन तथा नियमको उल्लंघन गर्ने जो कोहीलाई पनि उन्मुक्ति नदिइने उनको भनाइ छ।

राज्यले दिएको तलब तथा सेवा सुविधाप्रति कर्मचारी सन्तुष्ट रहनुपर्ने उल्लेख गर्दै उनले आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए। सेवामा प्रवेश गर्दा खाएको शपथअनुसार देश र नागरिकको हितमा काम गर्नुपर्ने उनले स्मरण गराए। सुविधाका विषयमा असन्तुष्टि भए अरू बाटो रोज्न सकिने, तर अनियमितता गर्न भने नहुने उनको भनाइ छ।

जिम्मेवारी ट्राफिक व्यवस्थापनमा मात्र सीमित छैन

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले ट्राफिक प्रहरीको भूमिका सवारीसाधनको आवागमन व्यवस्थित गर्ने काममा मात्र सीमित नरहेको बताए। नागरिकको जीवनरक्षा, सार्वजनिक सडकको सुरक्षा, सडक अनुशासन कायम राख्ने तथा सभ्य समाज निर्माण गर्ने जिम्मेवारीसमेत यससँग जोडिएको उनले उल्लेख गरे।

असल ट्राफिक प्रहरीले आफूले लगाउने बर्दीको सम्मान गर्ने, कानुनको पालना गर्ने, नागरिकको विश्वास जित्ने र आफ्नो कर्तव्यलाई सेवाका रूपमा ग्रहण गर्नुपर्ने सुवेदीले बताए।