मुख्य सामग्रीमा जानुहोस्

जलवायु परिवर्तनले नेपालमा प्रतिलाख २४ जनाको मृत्यु हुने प्रक्षेपण

नयाँ अध्ययनले तापक्रम वृद्धिसँगै नेपालमा तापसम्बन्धी मृत्युदर प्रतिलाख २४ जनाले बढ्ने देखाएको छ। तराईका धनुषा, रूपन्देही र कैलाली जिल्ला सबैभन्दा बढी जोखिममा छन्। विद्युत् खपत घट्ने र ३२ प्रतिशत जनसंख्या तापसँग जुध्न…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

जलवायु परिवर्तनका कारण नेपालमा तापसम्बन्धी मृत्युदर प्रति १ लाख मानिसमा २४ जनाले वृद्धि हुने प्रक्षेपण गरिएको छ। शिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबले सार्वजनिक गरेको विश्वव्यापी अध्ययनले धनुषा, रूपन्देही र कैलालीलाई सबैभन्दा बढी जोखिममा राखेको छ।

अध्ययनले तापक्रम वृद्धिले विश्वव्यापी ऊर्जा खपतमा पार्ने प्रभाव र त्यसपछि समुदायहरूले अनुकूलन गर्न सक्ने क्षमताको विश्लेषण गरेको छ। रिपोर्टअनुसार नेपाल विद्युत्को अपर्याप्त उपलब्धताका कारण ‘मोर्टालिटी कूलिङ ट्र्याप’मा फसेका १८ मुलुकमध्ये एक हो। कम विद्युत् उपलब्धताका कारण पङ्खा र एयर कन्डिसनरजस्ता शीतलनका साधन प्रयोग गर्न नसक्दा तापक्रमको सामना गर्न नसक्ने अवस्थालाई अध्ययनले यसरी नामाकरण गरेको छ।

यो समस्याप्रति सबैभन्दा बढी संवेदनशील पाकिस्तान रहेको छ। त्यहाँको विद्युत् अभाव र अत्यधिक तापक्रमका कारण जोखिम उच्च छ। बंगलादेश र बर्मा पनि उत्तिकै जोखिममा रहेका छन्।

सह–लेखिका एमिली ग्रोभर–कोपेकले भनेकी छन्, “मोर्टालिटी कूलिङ ट्र्यापले तापसम्बन्धी मृत्युदरमा ठूलो वृद्धि र जलवायु परिवर्तनका कारण विद्युत् खपतमा न्यून परिवर्तन हुने क्षेत्रहरूलाई पहिचान गर्छ। सबैभन्दा बढी जोखिममा रहेका क्षेत्रहरू विद्युतीय शीतलनमार्फत तापक्रमसँग अनुकूलन गर्न असक्षम हुनेछन्।”

अध्ययनले विश्वका २४ हजार ३७८ क्षेत्रलाई समेटेको छ। जलवायुजन्य तापक्रम परिवर्तनका कारण सन् २०५० सम्म प्रत्येक वर्ष करिब ४ लाख ३० हजार थप मानिसको मृत्यु हुने प्रक्षेपण गरिएको छ। गरिब मुलुकमा मृत्युदर धनी मुलुकको तुलनामा १० गुणा बढी हुने बताइएको छ। ‘ट्र्याप’मा परेका क्षेत्रमा ६७ करोड ६० लाखभन्दा बढी मानिस बस्छन्, जसमा नेपाल पनि समेटिएको छ। सन् २०५० देखि यी मुलुकहरूमा प्रत्येक वर्ष करिब ३ लाख ७७ हजार मानिसले ज्यान गुमाउने अनुमान छ।

नेपालमा विद्युत् खपत घट्ने अनुमान

अध्ययनअनुसार नेपालमा जलवायु प्रभावका कारण प्रतिव्यक्ति विद्युत् खपत ०.०१ गिगाजुलसम्म घट्न सक्छ। यसले ३२ प्रतिशत जनसंख्याको तापक्रमको सामना गर्ने क्षमतालाई कमजोर बनाउने देखिन्छ। लोडसेडिङ र महँगो विद्युत्का कारण धेरै परिवार शीतलनका साधनहरू प्रयोग गर्नबाट वञ्चित हुने अध्ययनले जनाएको छ।

यो अवस्था तब छ जब नेपालको विद्युत् उत्पादन क्षमता ४ हजार ३०० मेगावाट पुगिसकेको छ। सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट उत्पादन गर्ने र भारत तथा बंगलादेशमा १० हजारदेखि १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ।

शिकागोस्थित एनर्जी पोलिसी इन्स्टिच्युटका सह–लेखक अश्विन रोडेले नेपालको विद्युत् खपतमा देखिएको गिरावट जलवायु परिवर्तनका कारण भएको बताए। “नेपालको विद्युत् उत्पादन विस्तार शीतलनका लागि खपत बढाउने लक्ष्यका हिसाबले राम्रो समाचार हो,” उनले भने, “तर यो तथ्यांक दैनिक तापक्रम र ऊर्जा खपतबीचको अनुमानित सम्बन्धका आधारमा निकालिएको हो।”

जलवायु प्रवास र सहरी ताप

नेपाल औसत उचाइका कारण तुलनात्मक रूपमा चिसो भए पनि ‘मोर्टालिटी कूलिङ ट्र्याप’को सूचीमा परेको छ। मैदानी भेगबाट मानिसहरू पहाडतिर सर्न थाल्नेछन् भने सीमापार हिमालतर्फको बसाइँसराइ पनि हुने देखिन्छ। सम्भावित ठूलो जनआप्रवासनका लागि तयारी नरहेको र नीतिहरू जलवायु अनुकूलन तथा न्यूनीकरणको गतिसँग नचलेको अध्ययनले औंल्याएको छ।

रोडेले चेतावनी दिएका छन्, “प्रवासले न्यानो हुँदै गएको जलवायुका जोखिमबाट बच्ने बाटो दिए पनि यो महँगो अनुकूलन रणनीति हो, जुन सबैभन्दा गरिब र जोखिममा रहेका जनसंख्याका लागि निकै भारी हुनेछ।”

पङ्खा र एयर कन्डिसनरको बढ्दो प्रयोगले सहरी क्षेत्रमा तापक्रम थप बढाउने प्रभाव पार्छ। यसले सहरका मुख्य क्षेत्रहरूलाई कम भिडभाड भएका उपनगरभन्दा ५ डिग्री सेल्सियससम्म तातो बनाउन सक्छ। काठमाडौंको रिङरोडभित्रको क्षेत्र दिउँसो ४ डिग्री र साँझ ३ डिग्रीसम्म बाहिरी भेगभन्दा तातो हुने गरेको छ। हरियाली र जलक्षेत्रले तापक्रम १.२ डिग्रीसम्म घटाउन सक्ने अध्ययनले देखाएको छ।

अध्ययनले ७२ प्रतिशत जनसंख्या भएका क्षेत्रमा विद्युत् खपतमा खासै परिवर्तन नआउने प्रक्षेपण गरेको छ। तीमध्ये धेरै पहाडी क्षेत्रमा छन्, जहाँ चिसोका कारण हुने मृत्युमा आउने कमीले तापक्रमजन्य मृत्युको प्रभावलाई सन्तुलन गर्ने ग्रोभर–कोपेकले बताएकी छन्।