काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितसँग जोडिएका विषय प्रभावकारी रूपमा उठाउन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित 'द ग्रीन टेबल' को १८औँ शृङ्खला 'हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी' विषयक संवादमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
महासभामा प्रधानमन्त्री वालेन्द्र साह सहभागी हुँदै गर्दा पहिलो पटक भाग लिएझैँ आत्तिनु नपर्ने उनको भनाइ छ । अघिल्ला सरकारले छोडेको विरासत बोकेर र अब आउने सरकारको अगुवाइ गर्ने जिम्मेवारीसमेत साथमा लिएर महासभामा निर्धक्क भएर आफ्नो पक्ष राख्न थापाले सुझाव दिएका छन् । सिंगो देशको प्रतिनिधित्व गर्दै सबै नेपालीको भावना समेटेर बोल्नुपर्ने उनले बताए । आफूहरूको विश्वास प्रधानमन्त्रीले सबैको कुरा सुनिरहेको छ भन्ने रहेको पनि उनले उल्लेख गरे ।
जलवायु परिवर्तनको असरबारे अध्ययन तथा अनुसन्धान गर्ने नेपाली अध्येता र विज्ञ धेरै रहेको भन्दै उनीहरूको सुझाव समेटेर प्रमाणका आधारमा महासभामा प्रस्तुत हुन उनले आग्रह गरे । नेपालभित्रै रहेका यस्ता अध्ययनकर्ता र अध्यापन गराइरहेका व्यक्तिहरू आफ्नो स्रोत भएको पनि उनको भनाइ छ ।
महासभामा नेपालले कुन विषयमा आवाज उठाउने र केका लागि लड्ने भन्ने प्रस्ट हुनुपर्ने उनले बताए । विपद्को प्रभाव परेको ठाउँमा तुरुन्तै बस्ती बसाल्ने कि नबसाल्ने भन्नेदेखि आफ्नो संस्थालाई कसरी बलियो बनाउने भन्ने विषयसम्म कुरा उठाउनुपर्ने उनको सुझाव छ । जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राखिनुपर्ने र त्यसलाई अनुमानका आधारमा नभई प्रमाणका आधारमा प्रस्तुत गरिनुपर्नेमा उनले जोड दिए ।







