गोरखा — जलवायु परिवर्तनले हिमाली बस्तीमा निम्त्याइरहेको जोखिमतर्फ सरकारको ध्यानाकर्षण गराउन गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्याम्पमा आमरण अनशन बस्ने घोषणा गरेका छन् । आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन चल्ने स्थानीय धावा नोर्बु लामाले जानकारी दिए ।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने माग राख्दै सामागाउँवासीले गोरखाका प्रमुख जिल्ला अधिकारीको नाममा आठबुँदे ध्यानाकर्षण पत्र तयार पारेका छन् । उक्त पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा बुझाइएको धावा नोर्बु लामाले बताए ।
नयाँ हिमतालको जोखिम
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ आसपास यो वर्ष धेरै नयाँ हिमताल थपिएको उल्लेख गर्दै ती तालबाट पर्न सक्ने असरको अध्ययन र बचावटका उपाय पहिल्याउन माग गरिएको छ । मनास्लुको फेद पुंगेनमा बनेका ताल, वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानका तीन ठूला जोखिमयुक्त हिमताल एवं मनास्लु तथा चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन र निरीक्षण गर्नुपर्ने माग पत्रमा राखिएको छ ।
ती सबै तालको गहिराइ मापन गरी भविष्यमा हुन सक्ने हिमताल विस्फोटको जोखिमबारे अध्ययन गर्न, ताल तथा नदीमा जलसतह नाप्ने संयन्त्र जडान गर्न र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि राख्न पनि माग गरिएको छ ।
नेपाल र चीनका हिमताल तथा हिमनदीको संयुक्त अध्ययन र अनुगमन गर्न, एमक्याप जस्ता हिमाली क्षेत्रसँग सम्बन्धित संस्थामार्फत देशभरका हिमाली भेगमा बढिरहेको जलसतहको नियमित अनुगमन तथा निगरानी राखी त्यसको जोखिमबाट आसपासका नागरिकको सुरक्षा गर्न पहल गर्न पनि माग छ । हिमाली क्षेत्रका विद्यालयको पाठ्यक्रममा जलवायु परिवर्तनका प्रभाव समेट्न र विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान शून्य दशमलव चार प्रतिशत मात्र रहेकाले प्रदूषण फैलाउने विकसित राष्ट्रबाट पाउनुपर्ने जलवायु क्षतिपूर्ति तथा न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ ।
जलवायुसम्बन्धी बैठक तथा सेमिनार सहरमा मात्र नगरी हिमाली क्षेत्रमै आयोजना गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थालाई आग्रह गरिएको छ । सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा थप असर पर्न सक्ने भएकाले हिमाली बस्तीका बासिन्दाको जीवन रक्षाका लागि पूर्वतयारी गर्न पनि पत्रमा माग गरिएको छ ।
धावा नोर्बु लामाका अनुसार सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेका छन् ।







