सरकारले चालु आर्थिक वर्षभित्र एक लाख व्यक्तिलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बुधबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता कल्याण समितिको बैठकमा सो लक्ष्य सार्वजनिक गरेका हुन्।
मन्त्री यादवका अनुसार राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत १२ वटा कार्ययोजना तयार पारिएको छ। ती कार्ययोजनामा हरित रोजगार अभियान (ग्रिन जब मिसन) पनि समावेश छ। यी लक्षित कार्यक्रममार्फत स्वदेशभित्रै रोजगारीका अवसर विस्तार गर्ने मन्त्रालयको योजना रहेको उनले बताए।
अलपत्र नेपालीको उद्धार
मन्त्री यादवले विदेशमा वैध कागजातविना वा भ्रमण भिसामा गएर अलपत्र परेका १ सय ५५ नेपालीको उद्धार गर्न सरकार लागिपरेको जानकारी दिए। उद्धार तथा स्वदेश फिर्ताको प्रक्रिया अघि बढिरहेको र यसका लागि खर्च वैदेशिक रोजगार कल्याण कोषबाट व्यहोरिने उनले स्पष्ट पारे।
ऐन संशोधन र ठगी नियन्त्रण
वैदेशिक रोजगार क्षेत्रमा देखापरेका नयाँ चुनौती समाधान गर्न वैदेशिक रोजगार ऐन संशोधन गरिएको मन्त्री यादवले बताए। साथै, ‘फ्री भिसा’ र ‘फ्री टिकट’ को नाममा हुने ठगी रोक्न कार्यदल समेत गठन गरिएको छ।
मन्त्रालयले वैदेशिक रोजगार ठगीबाट पीडित भएकाहरूले सहज रूपमा उजुरी दिन सक्ने गरी अनलाइन उजुरी प्रणालीसमेत लागू गरेको उनले जानकारी दिए।



