काठमाडौं, साउन २० । सरकारले तथ्याङ्कसम्बन्धी नियमावली संशोधन गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
संशोधनपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमति लिएका संस्थाहरूलाई गणना क्षेत्र नक्सा (Enumeration Area Map) उपलब्ध गराउन सक्नेछ। कार्यालयका प्रवक्ता दुण्डीराज लामिछानेका अनुसार निश्चित शुल्क असुल गरेर यस्तो नक्सा दिने व्यवस्था खुला गरिएको हो।
गणना क्षेत्र नक्सा अनुसन्धानकर्ताका लागि उपयोगी
जनसंख्याविद् प्रा.डा. योगेन्द्रबहादु गुरुङले गणना क्षेत्र नक्सा अनुसन्धान तथा सर्वेक्षण गर्नेहरूका लागि उपयोगी हुने बताएका छन्।
विद्यार्थीको शुल्क घटाइयो
नियमावली संशोधनसँगै सूक्ष्म कोरा तथ्याङ्क (Micro Data) को शुल्कमा पनि कटौती गरिएको छ। प्रवक्ता लामिछानेका अनुसार नेपालभित्रका विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीका लागि सूक्ष्म कोरा तथ्याङ्कको शुल्क ४ हजार रुपैयाँमा ५० प्रतिशत घटाइएको छ। अब उक्त शुल्क २ हजार रुपैयाँ हुनेछ।
यस्तै, सर्वेक्षणतर्फ नेपालस्थित विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीले तिर्दै आएको २ हजार ५०० रुपैयाँ शुल्क घटाएर १ हजार २०० रुपैयाँ कायम गरिएको छ।
संशोधित नियमावलीबमोजिम तथ्याङ्क कार्यालयले तालिम निर्देशिका जारी गर्ने व्यवस्थासमेत गरिएको छ।
