हेटौंडा अस्पतालमा उच्च जोखिम प्रसूतिका क्रममा नवजात शिशुलाई तुरुन्त गहन उपचार आवश्यक पर्ने डरले चितवन वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ। अस्पतालमा मंगलबारदेखि आठ शय्याको नवजात गहन उपचार कक्ष (एनआईसीयू) सञ्चालनमा आएको हो।
एनआईसीयू सञ्चालनको पहिलो दिन नै दुई नवजात शिशु भर्ना भएका छन्। अस्पतालमा मंगलबार शल्यक्रियाबाट जन्मिएका ती दुई बालबालिकामा जटिलता देखिएपछि एनआईसीयूमा राखिएको बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले बताए।
एनआईसीयू र पीआईसीयू
२८ दिनसम्मका नवजात शिशुलाई गहन उपचार उपलब्ध गराउने यो कक्ष स्थापनाका लागि अस्पतालले दुई वर्षदेखि तयारी गर्दै आएको थियो। यसअघि उच्च जोखिम भएका वा उपचारपछि गहन निगरानी चाहिने नवजात शिशुलाई चितवन र काठमाडौंका अस्पताल पुर्याउनुपर्ने अवस्था रहेको थियो।
बालरोग विशेषज्ञ डा. राजु सेढाईले नयाँ कक्ष सञ्चालनमा आएसँगै हेटौंडा अस्पतालमा प्रसूति गराउने महिलाको संख्या बढ्ने विश्वास व्यक्त गरे। साथै सुत्केरीपछि गम्भीर बिरामी नवजातलाई चितवन वा काठमाडौं सार्नुपर्ने झन्झट पनि कम हुने उनले बताए।
अस्पतालले एनआईसीयूसँगै एक महिनादेखि १४ वर्षसम्मका बालबालिकाका लागि आठ शय्याको बाल गहन उपचार कक्ष (पीआईसीयू) पनि सञ्चालनमा ल्याएको छ।
बागमती प्रदेशको लगानी र जनशक्ति
मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सेसका प्रशासकीय अधिकृत अमर अधिकारीका अनुसार एनआईसीयू र पीआईसीयू स्थापनाका लागि बागमती प्रदेश सरकारले ३ करोड ७२ लाख रुपैयाँ उपलब्ध गराएको थियो।
नवजात गहन उपचार कक्षमा बालरोग विशेषज्ञ डा. खड्का, डा. सेढाई र डा. सुष्मा हुज्दारसहित नर्स सम्झना फुयाँल कार्यरत छन्। अस्पतालले थप दुई बालरोग विशेषज्ञ नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको छ। एनआईसीयूमा चार मेडिकल अफिसर, १८ स्टाफ नर्स, चार सरसफाइकर्मी र दुई सुरक्षागार्ड रहेको अस्पतालले जनाएको छ।
हेटौंडा अस्पतालमा हाल २४ शय्याको बाल वार्ड, चार शय्याको विशेष नवजात उपचार कक्ष (एसएनसीयू) र चार शय्याको पोषण पुनर्स्थापना केन्द्र समेत सञ्चालनमा छन्। अस्पतालमा विशेषज्ञसहित एक सयभन्दा बढी चिकित्सक कार्यरत रहेको जानकारी दिइएको छ।






