काठमाडौं । ऊर्जा पेय (इनर्जी ड्रिंक) को सेवनका सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सावधानीपूर्ण सूचना जारी गरेको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय मातहतको विभागले क्याफिनसँग सम्बन्धित जोखिमलाई ध्यान दिँदै र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनीका सन्देश पालना गर्नुपर्ने भन्दै यो सूचना जारी गरेको हो।
विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील मानिसलाई ऊर्जा पेय नपिउन आग्रह गरेको छ। अन्य सामान्य उपभोक्ताले भने दिनमा बढीमा दुई क्यानसम्म मात्र सेवन गर्न सक्ने विभागको भनाइ छ। एउटा क्यानको क्षमता बढीमा ३३० मिलिलिटरसम्म हुन सक्ने र सोही आधारमा दैनिक सीमा निर्धारण गरिएको विभागले जनाएको छ।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिएर ऊर्जा पेय उत्पादन र बिक्री गरिरहेका छन्। ती उत्पादनको लेबल तथा प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमै उत्पादित ऊर्जा पेयमा प्रतिक्यान १०० मिलिग्राम क्याफिन पाइएको छ।
स्वस्थ वयस्कका लागि अन्तर्राष्ट्रिय रूपमा तोकिएको दैनिक क्याफिन सेवन सीमाभन्दा यो मात्रा कम रहेको विभागले उल्लेख गरेको छ। यद्यपि केही समूहका लागि यस्ता पेय पूर्ण रूपमा वर्जित गर्नुपर्ने भन्दै विभागले सचेत गराएको छ।
ऊर्जा पेयलाई पानी, दूध, जुस वा अन्य पौष्टिक पेयको विकल्पका रूपमा प्रयोग नगर्न पनि विभागले सुझाएको छ। यस्ता पेय अन्य पेयपदार्थसँग मिसाएर खान पनि विभागले रोक लगाएको छ।
लेबल र विज्ञापनमा कडाइ
उत्पादक तथा बिक्रेताले चेतावनीमूलक लेबल स्पष्ट रूपमा देखिने गरी राख्नुपर्ने, विज्ञापनसम्बन्धी नियम पालना गर्नुपर्ने र खाद्य सुरक्षा कानुनको पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ। त्यसो नगरेमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि विभागले दिएको छ।
ऊर्जा पेय र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे सार्वजनिक बहस बढिरहेका बेला विभागको यो सूचना आएको हो।







