स्याङ्जा । जिल्लाका तीन स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित निर्माण थालिएका औषधालय भवन सम्झौता भएको करिब छ वर्ष बितिसक्दा पनि सकिएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा बनिरहेका भवन अहिले अलपत्रजस्तै अवस्थामा छन् ।
सम्झौता भएको चार वर्षपछि मात्रै निर्माण शुरु भएका यी भवनले तोकिएको म्याद नाघिसक्दा पनि पूर्णता पाएका छैनन् । सेतिदोभान र आरुचौरको काम हाराहारी आधा मात्र सकिएको छ भने धनुबाँसेमा निर्माण केही समययता पूरै रोकिएको छ ।
करार कसले, कति रकममा
सेतिदोभान र आरुचौरका औषधालय भवन निर्माणका लागि भ्याली/बाबुरत्न जेभी ललितपुरसँग २०७७ फागुन ११ गते सम्झौता भएको थियो । त्यस्तै खहरेधनुबाँसे आयुर्वेद औषधालय भवन सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनले बनाउने गरी २०७७ फागुन १९ गते संघीय सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइ पोखरासँग सम्झौता गरिएको इन्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिए ।
बास्ताकोटीका अनुसार सेतिदोभानको प्राथमिक स्वास्थ्य केन्द्र भवनका लागि सात करोड ८२ लाख ७१ हजार ५६६ रुपैयाँ १३ पैसा र आरुचौरको आयुर्वेद औषधालय भवनका लागि दुई करोड २९ लाख ७८ हजार ८७६ रुपैयाँ ४३ पैसा बराबरको ठेक्का सम्झौता भएको थियो । दुवै भवन दुई वर्षभित्र सक्ने सर्त राखिएको थियो ।
सम्झौताको अवधि सकिँदा सेतिदोभानमा ६५ प्रतिशत र आरुचौरमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । दुवै ठाउँको वित्तीय प्रगति भने ४४ प्रतिशत मात्र रहेको छ । भवनको ढलान र प्लास्टर सकिए पनि बाँकी काम अझै बाँकी छन् ।
धनुबाँसेमा ठेक्का तोड्ने सूचना
वालिङ–१ धनुबाँसेको आयुर्वेद औषधालय भवन एक करोड ७९ लाख १२ हजार ४७० रुपैयाँ तीन पैसामा बनाउने गरी ठेक्का दिइएको थियो । डेढ वर्षभित्र सम्पन्न गर्ने सर्त भए पनि म्याद सकिँदा आधा काम मात्र भएको इन्जिनियर लक्ष्मण लम्सालले बताए ।
निर्माण अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि कम्पनीले अपेक्षित प्रगति नगरेको उनको भनाइ छ । तोकिएको समयमा काम नसकिएपछि कार्यालयले ठेक्का तोड्ने सूचना नै जारी गरेको छ । धनुबाँसेमा पछिल्लो डेढ वर्षदेखि निर्माण कम्पनीले काम गरेको छैन ।
भाडाको घरबाट सीमित सेवा
निर्माणमा भएको ढिलाइको असर स्थानीयले पाउने स्वास्थ्य सेवामा परेको छ । धनुबाँसे आयुर्वेद औषधालयका प्रमुख हरिप्रसाद अर्यालका अनुसार औषधालयले भाडाको घरबाट सामान्य स्वास्थ्य परीक्षण, औषधोपचार र परामर्श सेवा मात्र दिइरहेको छ । आफ्नै भवन तथा आवश्यक पूर्वाधार नहुँदा मेडिकल योग, शिरोधारा र आयुर्वेदिक औषधि उत्पादनजस्ता सेवा सञ्चालन गर्न सकिएको छैन । यसले औषधालयको सेवा विस्तार र प्रभावकारितामा बाधा पुर्याएको उनले बताए ।
निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार प्रभावित भएको आरोप स्थानीयले लगाएका छन् । सेतिदोभान र आरुचौरमा केही समययता निर्माण गतिविधि देखिए पनि धनुबाँसेमा काम अघि बढेको छैन । तीनवटै भवन समयमै नबन्दासम्म औषधालयहरूले भाडाका घरबाट सीमित सेवा दिनुपर्ने अवस्था कायमै रहने देखिन्छ ।







