धनगढी, २९ साउन । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। एमाले संसदीय दलको बैठकले उपनेता सन्तोष कुमारी शर्मा थापाको नेतृत्वमा चार सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो।
शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकले थापासहित चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बमलाई मन्त्री बनाउने टुंगो लगाएको छ। जानकी ऐर बम भने राज्यमन्त्री बनाउने तयारीमा रहेको बताइएको छ।
मन्त्रालयको जिम्मेवारी
एक सांसदका अनुसार एमालेको भागमा परेको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी चक्रबहादुर मल्लले पाउनेछन्। सामाजिक विकास मन्त्रालयको जिम्मेवारी उपनेता सन्तोष कुमारी शर्मा थापाले सम्हाल्ने भएकी छन्। त्यस्तै दमनबहादुर भण्डारीले भूमी व्यवस्था, कृषि तथा सहकारी वा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।
शपथ र मन्त्रिपरिषद् विस्तार
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार बिहान नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। भट्टले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। मुख्यमन्त्रीको शपथग्रहण सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि गरिएको छ।
एमालेले मन्त्रीहरूको नाम टुंगो लगाइसकेको छ। तर, नेकपामा भने मन्त्री छनोटबारे छलफल जारी रहेको बताइएको छ।






