काठमाडौं, २९ साउन । सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुने भएको छ। संसदीय मर्यादा र पछिल्लोपटक संसदीय समितिमा भएको घटनाबारे छलफल गर्न उनीहरू भेटिन लागेका हुन्।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको गत बुधबारको बैठकमा प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा भएको अनियमितताबारे परेको उजुरीमाथि छलफल भएको थियो। सोही बैठकमा देखिएको विवादले संसदीय मर्यादाको प्रश्न उठाएको थियो।
बैठकमा के भयो ?
बुधबारको बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए। गृहमन्त्री सुधन गुरुङ बैठकका लागि आमन्त्रित भए पनि उपस्थित भएनन्।
छलफलका क्रममा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको लागि आवश्यक कपडा र जुत्ता खरिदबारे छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका थिए। यसै विषयलाई लिएर उत्पन्न विवाद सामाजिक सञ्जालमा समेत पोखिएको थियो।
भेटमा छलफलको विषय
सभामुख र प्रहरी प्रमुखबीचको भेटमा सार्वजनिक लेखा समितिको बैठकमा भएको विवाद र त्यसले संसदीय मर्यादामा पारेको असरबारे छलफल हुने अपेक्षा गरिएको छ।



