सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा एमालेका तर्फबाट राज्यमन्त्रीसहित चार जना मन्त्रीले शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री खगराज भट्टले सोही दिन शपथ लिइसकेका थिए ।
शपथ ग्रहण गर्नेहरूमा सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम छन् ।
मुख्यमन्त्री भट्ट नेकपा एमालेको प्रदेशसभा संसदीय दलका नेता हुन् । नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिका आधारमा दुई दलको गठबन्धनबाट उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा एमाले–नेकपा गठबन्धनको नयाँ सरकार गठन भएको हो ।






