काठमाडौं, साउन २९ गते । प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा विगत एक सातामा पोर्टल र फोन गरी ६ हजार ६ सय ८ गुनासा दर्ता भएका छन् । साप्ताहिक कामको विवरण सार्वजनिक गर्ने अभ्यास थाल्दै कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता हेमराज अर्यालले सार्वजनिक गरेको विवरणअनुसार पोर्टलबाट ३ हजार ४९६ गुनासा प्राप्त भएका छन् । तीमध्ये २ हजार २२५ गुनासा सम्बन्धित निकायमा पठाइएका छन् । पोर्टलमार्फत नै २ हजार २१ गुनासा समाधान भएका छन् भने ९८१ गुनासा फछ्यौट भएका छन् ।
फोनबाट आएका गुनासा
हेलो सरकारको फोन सेवामा ३ हजार ११० कल प्राप्त भएको छ । कार्यालयले २ हजार १७७ गुनासाको फोनबाटै व्यवस्थापन गरेको जानकारी दिएको छ भने १० गुनासा रद्द भएका छन् ।
हरेक शुक्रबार विवरण सार्वजनिक हुने
प्रधानमन्त्री कार्यालयले अबदेखि हरेक शुक्रबार साताभरि भएका कामको विवरण सार्वजनिक रूपमा जानकारी गराउने निर्णय गरेको छ । यही व्यवस्थाअनुसार यसपटक गुनासासम्बन्धी तथ्यांक सार्वजनिक गरिएको हो ।


