काठमाडौं, साउन २९। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पूर्वसभापति शेरबहादुर देउवालाई अब आफूलाई कांग्रेसको सभापति भन्ने नैतिक आधार नरहेको बताएका छन्। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले देउवा गुट र उपगुटको घेराभन्दा माथि उठेर समग्र कांग्रेसको अभिभावक बन्ने भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
“शेरबहादुर देउवा दाइले अहिले कांग्रेसको सभापति भन्ने नैतिक आधार छैन। उहाँले गुट र उपगुटको घेराभन्दा माथि उठेर समग्र कांग्रेसको अभिभावक बन्ने भूमिका निर्वाह गर्नुपर्छ।”
विगतमा भएका कमजोरी स्वीकारेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए। अब आरोप–प्रत्यारोप नगरी आत्मसमीक्षा, सुधार र जनताको विश्वास जित्ने अभियान आवश्यक रहेको कोइरालाको भनाइ छ।
गुट–उपगुटभन्दा माथि उठ्न आग्रह
कोइरालाले सभापति गगन थापाले सिंगो कांग्रेसलाई एकताबद्ध, जिम्मेवार र जनमुखी नेतृत्व दिएर देशकै अभिभावक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए। उनका अनुसार कांग्रेसको शक्ति गालीमा होइन, नीति, विचार, इमानदारी र काममा देखिनुपर्छ।
“सभापति गगन थापाले सिंगो कांग्रेसलाई एकताबद्ध, जिम्मेवार र जनमुखी नेतृत्व दिँदै देशकै अभिभावक शक्तिका रूपमा स्थापित गर्नुपर्छ,” कोइरालाले भने, “कांग्रेसको शक्ति गालीमा होइन, नीति, विचार, इमानदारी र काममा देखिनुपर्छ। अब विगतको गल्तीबाट सिक्दै जनताको भरोसा फर्काउने समय हो।”
संवादबाट समाधान खोज्नुपर्ने
राजनीतिक दल, उद्योगी, व्यवसायी, बुद्धिजीवी, किसान, युवा, विद्यार्थी, महिला, श्रमिक र नागरिक समाजसँग छुट्टाछुट्टै संवाद गरेर समस्या पहिचान गर्न सकिने र त्यसको ठोस समाधानको विकल्प ल्याउन सकिने कोइरालाले बताए। कांग्रेस सरकारको आलोचक मात्र नभई देशका समस्या समाधान गर्ने वैकल्पिक शक्ति हो भन्ने सन्देश दिनुपर्नेमा उनले जोड दिए।
“अब गालीको राजनीति होइन, जनताको आवाजबाट सरकारलाई जवाफदेही बनाउने निर्णायक अभियान सुरु गरौँ,” कोइरालाले भने। कांग्रेसले जनताको आवाजलाई केन्द्रमा राखेर सरकारलाई जवाफदेही बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ।






