काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापालाई पार्टी सभापतिको रूपमा स्वीकार्न नसकिने बताएका छन्। उनले थापालाई सभापति भन्न आफूलाई पटक्कै मन नलागेको टिप्पणी गरे।
शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै सिटौलाले विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने बताए। उनका अनुसार सो महाधिवेशन अवैधानिक छ र अराजक ढंगले गरिएको छ। थापा आफ्ना युवा भाइ भए पनि पार्टी सभापति भनेर सम्बोधन गर्न नसकिने उनको भनाइ छ।
यो आफ्नो पक्षको मान्यता भएको र कुनै व्यक्तिगत पूर्वाग्रह नरहेको पनि सिटौलाले दाबी गरे।
गल्ती सच्याउन आग्रह
सिटौलाले मानिसको जीवनमा गल्ती हुने र त्यसलाई स्वीकार गरेर सच्याउन सक्नुपर्ने बताए। गल्ती सच्याउन सक्नु नै महानता भएको उनको भनाइ छ। सर्वोच्च अदालतले थापालाई गल्ती सच्याउने ढोका खोलिदिएको भन्दै उनले आफैंले बाटो खोज्नुपर्ने सुझाव दिए।
हठ र अहंकारका भरमा गल्ती गर्ने शासकहरू विश्वमा ढलेका उदाहरण प्रशस्त रहेको सिटौलाले बताए। थापाले हठ नगरी गल्ती सच्याउनुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनबाट घोषित भएका अन्य पदाधिकारीबारे भने आफूसँग केही भन्न नरहेको उनले स्पष्ट पारे।
अन्तरआत्मासँग प्रश्न गर्न सुझाव
गल्ती सच्याउन कतै हारगुहार गर्नुपर्ने आवश्यकता नरहेको सिटौलाको भनाइ छ। बरु एकान्तमा बसेर आफ्नै अन्तरआत्मालाई प्रश्न गर्न सकिने उनले बताए। २४ गते आहत भएका शेरबहादुर देउवालाई पार्टीबाट निकालेर कत्रो महान् कार्य गरेँ भनेर आफैंले सोच्न सुझाव दिँदै उनले अन्तरआत्माले भनेकै बाटोमा जान आग्रह गरे।






