भदौ १, काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–९ का बासिन्दाले निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयनको माग गृहमन्त्री सुधन गुरुङसमक्ष राखेका छन्। मुख्यगरी ल्याबका लागि बजेट छुट्याउने वाचा पूरा नभएको उनीहरूको गुनासो छ। मागप्रति गृहमन्त्रीले भने चार महिनामै कामको प्रतिफल आउन नसक्ने बताउँदै मतदातालाई आफ्नो मत फिर्ता लैजान आग्रह गरेका छन्।
गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ हरेक महिना गृहजिल्ला जाने पूर्वघोषित कार्यक्रमअनुसार शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाटमा थिए। आइतबार बेलुका वडा नम्बर ९ मा भएको भेटमा वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछानेलगायत सहभागी थिए।
चुनावी वाचा सम्झाउँदै वडा सचिव
भेटघाटका क्रममा रास्वपा वडा सचिव लामिछानेले चुनावका बेला ल्याबका लागि बजेट छुट्याउने भनेर गएको कुरा गृहमन्त्रीलाई स्मरण गराए। गृहमन्त्रीले पहिले सहमति जनाए पनि बजेट विनियोजन नभएको प्रश्न आउँदा भने तुरुन्तै प्रतिफल खोज्न नहुने बताए।
सोही कार्यक्रममा क्याप लगाएका एक व्यक्तिले गृहमन्त्रीलाई चुनावी भेटमै मन्त्रालयका सचिवलाई फोन गरेर बजेटको आश्वासन दिएको, तर आएको बजेटमा त्यो रकम नसमेटिएको सम्झाए। जवाफमा गृहमन्त्रीले साना–साना योजनाका हिसाब किताबमा उतार्न थाल्दा महाभारत र रामायण मिलाएरै पनि नपुग्ने टिप्पणी गरे। साथै उनले त्यसका लागि सूची मगाइएको र सूचीका आधारमा काम हुने बताए।
प्रश्नकर्ताले गृहमन्त्रीनजिकै बसेका व्यक्तिलाई सूची पठाएको हो वा होइन भनेर सोधेका थिए। उनले सूची पठाएको जानकारी दिए पनि प्रश्नकर्ता आश्वस्त देखिएनन्। उनले गाउँलेको दबाब र गृहमन्त्रीले बोलेर मात्रै गएको तर काम नगरेको गुनासो सुनाए। अर्का एक व्यक्तिले भर्खरै मन्त्रालयका सचिवसँग यस विषयमा छलफल भएको बताउँदै प्रश्नकर्तालाई सम्झाउने प्रयास गरेका थिए।
मन्त्रीको जवाफ : ‘भोट फिर्ता लैजानुस्’
गृहमन्त्री गुरुङले चार महिनामा बल्ल पहिलो बजेट आएको भन्दै सो अवधिमा कायापलट गर्न नसकिने बताए। उनले काम गरिदिए पुग्ने कि भन्दै मतदातालाई भोट फिर्ता लैजान आग्रह गरे। सो अभिव्यक्तिपछि सहभागीहरू हाँसेका देखिन्छन्। एक सहभागीले ‘जिताएर पठाइहालियो, यो कुरा पहिले नै भन्नुपर्थ्यो’ भनेपछि गृहमन्त्रीले आफूले पहिलेदेखि नै स्पष्ट बोल्ने बताउँदै पाँच वर्ष हेरेर विश्वास गर्न आग्रह गरे।
उनले ‘चार महिनामा बल्ल १५/२० दिन भएको’ भन्दै अहिले चाहिएकै भरमा काम नहुने पनि बताए। गृहमन्त्री गुरुङको यो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।






