मुख्य सामग्रीमा जानुहोस्

देउवाको नेमप्लेट राखेकोप्रति सभापति थापाको आपत्ति, आफ्नै निकटस्थले डुबाउने चेतावनी

सभापति थापाले देउवाका निकटस्थहरूले नै उनलाई डुबाएको र भविष्यमा फेरि डुबाउन सक्ने चेतावनी दिएका छन् । आगामी १५औं महाधिवेशनमा देउवालाई निवर्तमान सभापतिका रूपमा अतिथि बनाउने आफ्नो चाहना पनि उनले राखेका छन् ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nepalpress

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’ को नेमप्लेट दिएर सम्मान देखाउने कार्यप्रति आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय समितिको बैठक समापनपछि बोल्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाले देउवाका निकटस्थ मानिसहरूले नै उनलाई डुबाएको र भविष्यमा पनि त्यस्तै गर्ने चेतावनी दिए । देउवाको वरिपरि बसेर प्रशंसा गर्नेहरू नै आफ्ना लाग्ने, तर उनको हितमा नबोल्ने उनको गुनासो छ ।

देउवासँगका प्रसंग र पुराना घटनाक्रम

आफूले देउवासँग विभिन्न चरणमा संवाद गरेको स्मरण गर्दै थापाले भाद्र २२ र २३ गते देउवाकै निवासमा पुगेको, भाद्र २४ गते बिहान फोनमा कुरा भएको र भाद्र २५ गते विश्वप्रकाश शर्मासँग मिलेर वक्तव्य निकालेको प्रसंग सुनाए । अस्पतालमा गएर पनि संवाद गरेको उनको भनाइ छ ।

असोज २७ गते बेलुका दुई महामन्त्रीबीच भेट भएपछि २८ गते बैठक बसेको र त्यसदिन बिहान देउवाको निवास पुगेर पार्टीका अर्का वरिष्ठ नेताले तयार पारेको वक्तव्यमा थप परिमार्जन गरेको उनले बताए । सोही दिन देउवालाई सम्मानपूर्वक बिदा गरिएको भए पनि पछि उनलाई फर्काउन ‘संसद पुनःस्थापना हुँदै छ’, ‘सबै ठीक हुँदै छ’ भन्ने आश्वासन दिइएको उनको आरोप छ । ती आश्वासन पूरा नभएको उनले बताए ।

विशेष महाधिवेशनका दिन आफू र विश्वप्रकाश शर्मासहितका नेतामाथि कारबाही भएको स्मरण गर्दै थापाले भने, त्यो दिन पनि देउवालाई केही भन्ने उनीहरूको चाहना थियो । तर सबै कुरा मिलिसकेको भन्दै उनीहरूविरुद्ध कारबाही गर्न उक्साइएको उनको गुनासो छ ।

उनले देउवालाई टिकट नदिइकन आफू चुनाव नलड्ने भनेर कोही नेताहरू नआएको, सबैले टिकट लिएर चुनाव लडेको, तर अहिले देउवा नभएकै कारण पराजय भएको भन्न थालिएकोे बताए । उनका अनुसार यो पनि देउवासँग गरिएको धोका हो ।

महाधिवेशनमा देउवालाई अतिथि बनाउने चाहना

थापाले देउवाप्रति आफ्नो सम्मान कम नभएको बताउँदै १५औं महाधिवेशनमा उनलाई निवर्तमान सभापतिका रूपमा अतिथि बनाएर कुरा सुन्न चाहेको उल्लेख गरे । असोज १६ गते हुने महाधिवेशनमा देउवाका शुभेच्छा र मार्गदर्शन लिने आफ्नो अपेक्षा रहेको उनको भनाइ छ ।

निवर्तमान कार्यवाहक सभापति शेखर कोइरालासहित केही नेताहरूले इमान्दारीपूर्वक मेलमिलाप गराउने प्रयास गरेको भन्दै उनले देउवाको नेमप्लेट लगाइदिनेहरूले भने उनको बारेमा केही सोच्न नचाहेको आरोप लगाए ।

युवा आक्रोश र नागरिक असन्तुष्टिलाई प्रायोजित भन्दै काट्न खोज्ने प्रवृत्तिले जेन्जी आन्दोलनप्रति अनादर हुने थापाको तर्क छ । राज्य र शासन शैलीप्रति जनताले गरेको प्रश्नलाई गलत बुझ्नु आफैंमा समस्या भएको उनले बताए ।

दिनरात पार्टीकै आन्तरिक किचलोमा अल्मलिएर बस्न नचाहेको भन्दै थापाले त्यसबाट बाहिर निस्कन देउवाको सहयोग चाहेको बताए । देउवालाई फर्काएर ल्याउने कामले समस्या अझ बल्झाएको उनको भनाइ छ । उनले देउवाले आफ्ना कमजोरी र अप्ठ्यारा लुकाउन चाहनेहरूका लागि ढाल बन्न नहुने सुझावसमेत दिए ।

भाद्र २३ र २४ का घटनाबारे न्यायिक छानबिन हुनुपर्ने र दण्डनीय विषयलाई दण्डित गर्नुपर्ने पार्टीको अडान रहेको पनि थापाले स्मरण गराए ।