काठमाडौं, १ भदौ । सरकारले आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो।
वार्ता टोलीमा को–को ?
सरकारी वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।
गठित टोली मार्फत सरकारले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताका लागि आह्वान गरेको छ।
ललितपुरमा भएको छलफल
यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच छलफल भएको थियो।
छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाउने सहमति भएको थियो। सोहीबमोजिम सरकारले गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्रसमेत ग्रहण गरेका थिए।
छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा सहभागी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले जनाएको छ।






