भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोर भदौ १ गतेदेखि चौबिसै घण्टा खुला हुने भएको छ। नेपालकै ठूलो खुद्रा व्यापार चेनले उपत्यकाका तीन जिल्लामा एक–एक स्टोर चौबिसै घण्टा सञ्चालन गर्ने योजनाअनुसार भक्तपुरबाट यो सेवा थालेको हो।
राधेराधेस्थित स्टोरमा पत्रकारहरूसँग कुराकानी गर्दै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले आम उपभोक्तालाई सपिङमा सहज बनाउन यो व्यवस्था ल्याइएको बताए। उनका अनुसार यस्तो अभ्यास नेपालका लागि भने नयाँ छ, तर अन्तर्राष्ट्रिय बजारमा यो पहिल्यैदेखि चलनमा छ।
उपत्यकाका अन्य स्टोरमा विस्तार हुने
काठमाडौं उपत्यकाका ललितपुर र काठमाडौंमा पनि चौबिसै घण्टा खुल्ने स्टोरको तयारी भइरहेको पौडेलले जानकारी दिए। ललितपुरको पाटनस्थित कृष्णगल्ली र काठमाडौंको टंगालस्थित सुपरस्टोरमा यही सुविधा विस्तार गरिनेछ। उनका अनुसार टंगालको स्टोर भदौ २४ गतेबाट सुरु गर्ने लक्ष्य राखिएको छ।
पहिलो दिनको अनुभवले यो अभ्यासलाई थप विस्तार गर्नुपर्ने देखिएको पौडेलले बताए। रातको समयमा स्टोर सञ्चालन गर्दा सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको र स्थानीय सरकार तथा प्रशासनलाई जानकारी दिइएको उनको भनाइ छ।
उपत्यकाका तीनवटै स्टोरमा यो सुविधा सुरु भएपछि पोखराको एउटा स्टोर पनि चौबिसै घण्टा चलाउने योजना रहेको पौडेलले बताए। यसले ग्राहक सुविधा थप बढ्ने उनको विश्वास छ।
रात्रिकालीन अर्थतन्त्रका लागि सकारात्मक
शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भाटभटेनीको यो पहलको प्रशंसा गरेका छन्। राधेराधेस्थित स्टोरमै पुगेका उनले काठमाडौं उपत्यकाको रात्रिकालीन जीवन र आर्थिक गतिविधिका लागि यो आवश्यक रहेको बताए। सरकारका तर्फबाट सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गरिने उनले जानकारी दिए।
उपभोक्तामा देखियो उत्साह
चौबिसै घण्टा खुल्न थालेकामा उपभोक्ताहरूले पनि खुसी व्यक्त गरेका छन्। दिनभर काममा व्यस्त हुँदा सपिङ गर्न नपाउनेहरूका लागि डिनरपछिको समय उपयुक्त हुने उनीहरूको भनाइ छ।
बौद्धबाट सपिङका लागि राधेराधेस्थित भाटभटेनी पुगेका एक उपभोक्ताले दिउँसो कामको व्यस्तताले सपिङ गर्न नपाएको र अब भने सहज हुने बताए। सुरक्षा व्यवस्थापन राम्रो भए स्टोर राम्रोसँग सञ्चालनमा आए आफूहरू अझ खुसी हुने उनको भनाइ छ।
चौबिसै घण्टा सञ्चालन हुने स्टोरको पहिलो तला मात्र खुला रहने भाटभटेनी प्रशासनले जनाएको छ। त्यहाँ ग्रोसरी सामान उपलब्ध हुनेछ।
देशभर २७ स्टोर
व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा छन्। कम्पनीको वार्षिक आम्दानी करिब ३२ अर्ब रुपैयाँ छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो। त्यसबाट कम्पनीलाई अर्बौं रुपैयाँको क्षति पुगेको थियो। क्षति बेहोरे पनि एक जनाको पनि रोजगारी नगुमाई कम्पनीले पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा फर्काइसकेको छ।



