एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र नेतृत्व पुनर्गठनको माग उठाउनेहरूलाई ‘आवारा’ भन्ने अभिव्यक्ति दिएका छन्। गत शनिबार इलाममा भएको पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकमा बोल्दै उनले पार्टी कार्यालय च्यासलको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्नेहरूलाई ‘केही आवाराहरू’ भनेका हुन्। क्यान्टिनमा चिया खाँदै अध्यक्ष हटाउने योजना बनाइएको आरोप लगाउँदै उनले यसलाई ख्यालवाजीका रूपमा लिन आग्रहसमेत गरे।
‘झोले’ बाट ‘आवारा’सम्मको यात्रा
गत वर्ष जेठ १५ गते एमालेले काठमाडौंमा गणतन्त्र उत्सव मनायो। सोही दिन सामाजिक सञ्जालमा एमाले कार्यकर्तालाई ‘झोले’ भन्ने टिप्पणी व्यापक भयो। जेठ १७ गते टोखामा भएको एमाले नेपाल बुद्धिजिवी परिषद्को महाधिवेशनमा प्रमुख अतिथि ओलीले ‘झोले’ शब्दलाई नै गर्वको विषय बनाए। आफू जनताको हित बोक्ने ‘झोले’ भएको बताउँदै उनले लामो व्याख्या गरे। त्यसको दुई दिनपछि उनकै सामाजिक सञ्जाल पेजबाट ‘म झोले हो’ अभियान सुरु भयो।
उक्त अभियानमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, तत्कालीन उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाललगायत सयौं नेता–कार्यकर्ताले आफ्नो फोटोसहित पोस्टर सार्वजनिक गरेका थिए। युवा विद्यार्थी नेता समिक बडाल, क्षितिज थेबे पनि त्यसमा अग्रपंक्तिमा थिए। पार्टीको अर्को पंक्तिले भने त्यो शैलीलाई रुचाएको थिएन र सामाजिक सञ्जालमा निन्दा बढेको थियो।
नेतृत्व पुनर्गठनको बहस र ओलीको आक्रोश
अहिले तीमध्येकै धेरै नेता नेतृत्व फेर्नुपर्ने पक्षमा छन्। विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरूङ, सचिव हिक्मत कार्कीले यथास्थितिमा पार्टी अघि नबढ्ने भन्दै बहस चलाइरहेका छन्। यसअघि नै ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट, योगेश भट्टराई, विन्दा पाण्डे, गोकुल बाँस्कोटा, कर्णबहादुर थापा, उषाकिरण तिम्सेनालगायतले पनि प्रश्न उठाइसकेका थिए। उपाध्यक्ष रामबहादुर थापालाई नेतृत्व पुनर्गठनको प्रस्ताव बनाउने जिम्मा दिइएको छ।
ओलीको आक्रोश कोशी र बागमती प्रदेशको नेतृत्व परिवर्तनको प्रयाससँग पनि जोडिएको छ। कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बो ल्याउने उनको प्रयास सफल भएको थिएन। त्यसका लागि सचिव शेरधन राईलाई परिचालन गरिए पनि कार्कीले पार्टी बैठकबाटै निर्णय गर्नुपर्ने अडान राखेपछि ओली पछि हटेका थिए। बागमतीमा पनि संसदीय दलका नेता जगन्नाथ थपलियाको सट्टा किरण थापामगरलाई अघि बढाउने कोसिस भइरहेको छ। ओलीले झापामा गएर थप चर्को अभिव्यक्ति दिँदै पार्टीबाट लाभ लिएकाहरूलाई ‘किर्ना’ पनि भनेका थिए।
नेपाली बृहत् शब्दकोषका अनुसार ‘आवारा’ भन्नाले घरगृहस्थीको ठेगाना नभएको, विनाकाम यताउति घुम्ने र परिवारको मोह नराख्ने व्यक्तिलाई बुझिन्छ। ओलीले आफ्नै पार्टीभित्रका नेता–कार्यकर्तालाई यो शब्द प्रयोग गरेपछि देशभर ‘म आवारा’ भन्दै अभियान नै चलेको छ।
वामपन्थी नेतृत्वको आलोचना सहन नसक्ने प्रवृत्ति
गत वर्ष भदौ २३, २४ र फागुन २१ का घटनाक्रमले एमालेलाई नेतृत्व समीक्षातर्फ धकेलेको विश्लेषण छ। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले २५ सिटमा खुम्चिँदा झापा–५ बाट ओली आफैं पराजित भए। त्यसपछि नेतृत्व पुनर्गठनको बहस झन् मुखरित भएको हो। युवा नेता समिक बडाल भन्छन्– हिजो ज्यानको बाजी राखेर नेतृत्वको रक्षा गरेका थियौं, अहिले पार्टीको रक्षाका लागि उभिनुपर्ने अवस्था आएको छ।
विश्लेषक झलक सुवेदीका अनुसार ओली स्थापित नेतृत्वमाथि प्रश्न गरेरै राजनीतिक उदय भएका थिए। तर पदमा पुगेपछि उनले लोकतान्त्रिकरणको कुरा बिर्सिएर असहमतिहरूलाई ‘आवारा’ भन्ने अभिव्यक्ति दिन थालेका छन्। एमालेको इतिहासमा पाँचौं र छैटौं महाधिवेशनमा फरक मत राख्नेहरूलाई दस्तावेज पेस गर्ने स्थान थियो। तर, अहिले अध्यक्षसँग सहमत हुनुलाई नै पार्टी निष्ठाको प्रमाण मानिन थालेको छ।
महासचिव शंकर पोखरेलले पनि नेताहरूकै भाषाका कारण वामपन्थी आन्दोलनप्रति अविश्वास बढेको बताएका छन्। मिल्दा मित्रताको भाषा बोल्ने र विवादपछि शत्रुतापूर्ण भाषा प्रयोग गर्ने प्रवृत्तिलाई उनले समस्याका रूपमा औंल्याए। यो बहसले पार्टीको आधिकारिक निकायसम्म पुग्ने र अन्ततः नेतृत्वको समीक्षा हुने सम्भावना देखिए पनि ओली भने प्रश्न उठाउनेहरूलाई ‘आवारा’ करार गर्दै आफ्नो अडानमा कायम छन्।






