काठमाडौं, ३ भदौ २०८३ । आज संघीय संसद्का दुवै सदनको बैठक हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न सवा १ बजे बोलाइएको छ।
प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। सोही बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ।
राष्ट्रिय सभाको बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यक्रम छ। त्यस्तै, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ पनि सम्बन्धित मन्त्रीले नै दिने कार्यसूची रहेको छ।
यसैगरी, राष्ट्रिय सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।







