तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधको प्रगति ६२ प्रतिशत पुगेको छ। सेती नदीमाथि बनिरहेको १४० मिटर अग्लो यो बाँध आयोजनाको प्रमुख संरचना हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणमा कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर खन्याइसकिएको छ। निर्धारित लक्ष्यअनुसार काम अघि बढेको र कङ्क्रिटिङ निरन्तर जारी रहेकाले छिट्टै थप प्रगति हुने उनले बताए।
मुख्य बाँधसहितका संरचना प्याकेज–१ अन्तर्गत सोङ्दा कालिका जेभीले निर्माण गरिरहेको छ। यस प्याकेजको समग्र प्रगति ५९ प्रतिशत छ। प्याकेज अन्तर्गत डाँडो कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका काम सम्पन्न भइसकेका छन्।
बाँध निर्माणका लागि सेती नदीलाई पहिल्यै पथान्तरण गरिएको छ। मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध बनाइएको छ भने दुवै किनारमा आठवटा ग्राउटिङ टनेल निर्माण भएका छन्। मुख्य बाँधको कङ्क्रिटिङ गत वर्ष चैत ७ गतेदेखि सुरु भएको हो।
बाँधको जगको स्थायित्वका लागि ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, कन्सोलिडेसन ग्राउटिङ र कर्टेन ग्राउटिङ गरिएको छ। त्यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान र ग्याबियन निर्माणको काम पनि अगाडि बढाइएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।







