मुख्य सामग्रीमा जानुहोस्

मनाङमा १० वर्षदेखि अधुरो मोटरेबल पुल

मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र ४ हुम्डे जोड्ने मोटरेबल पुल १० वर्षमा पनि बनेको छैन। स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। ठेकेदारलाई ७० प्रतिशत भुक्तानी भइसकेको बताइएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मनाङमा १० वर्षदेखि अधुरो मोटरेबल पुल
Online Khabar

मनाङको मर्स्याङ्दी नदीमाथि निर्माणधीन मोटरेबल पुल एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डेलाई जोड्ने यो पुलको निर्माण सम्झौता भएको १० वर्ष पुगेको छ। पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्ने यो पुलले मर्स्याङ्दी नदी पार गर्न सहज बनाउने अपेक्षा गरिएको थियो। तर, निर्माण समयमै सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थपिँदै आएको पूर्वाधार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार ठेकेदार कम्पनीले करिब ७० प्रतिशत रकम भुक्तानी लिइसकेको छ। कार्यालय प्रमुख हरि थापाले भुक्तानी भइसके पनि निर्माणको काम अपेक्षाअनुसार नभएको बताए।

‘भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,’ थापाले भने।

विसं २०७३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित करिब रु चार करोडमा उक्त पुलको निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार पुल मनाङ ङिस्याङ गाउँपालिका–३ र ४ लाई जोड्ने हुम्डेमा रहेको छ।

वडा नं ३ का वडाध्यक्ष कृष्णबहादुर लामाले ठेकेदार कम्पनी र कार्यालय दुवैले पुल निर्माणमा चासो नदिएको आरोप लगाए। उनका अनुसार पुल नहुँदा स्थानीयवासीलाई गाउँपालिका पुग्नसमेत लामो समय लाग्ने गरेको छ।

‘पुल बनेपछि चार–पाँच मिनेटमै गाउँपालिका पुग्न सकिन्छ। अहिले पुल नहुँदा घरबाट गाउँपालिका पुग्न धेरै समय खर्चिनुपरेको छ,’ लामाले भने।

पुल निर्माणमा काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीबाट काम अघि बढाउनुपर्ने स्थानीयवासीको माग छ। उनीहरूले पुलको ढिलाइले अन्य विकासका योजनासमेत प्रभावित भएको बताएका छन्।

जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल निर्माण अघि बढाउन निर्देशन दिएका छन्। उनले पुल सम्पन्न भएपछि मात्र मूल्याङ्कन गरी भुक्तानी दिन सम्बन्धित कार्यालयलाई भनेका छन्।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक सम्पर्क गरी काम सक्न आग्रह गर्दा पनि ठेकेदार कम्पनीले चासो नदेखाएको बताए। काम नगर्ने कम्पनीलाई नै पटक–पटक म्याद थपेर अवसर दिइएको उनको भनाइ छ।

पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै नबन्दा स्थानीयवासी र पर्यटक दुवैले सास्ती भोग्नुपरेको बताए। समयमै पुल निर्माण भए आवतजावतमा सहज हुने उनको भनाइ छ।