काठमाडौं, ३ भदौ । भक्तपुरमा सोमबार सम्पन्न चारदिने रङ्ग चौतारी बुटक्याम्पमार्फत पाँच प्रदेशका १५ युवालाई बहस, कथा वाचन र नाट्य विधामा प्रशिक्षण दिइएको छ।
डिबेट नेटवर्क नेपाल (डीएनएन)को आयोजना तथा युरोपियन युनियनको सहयोगमा आयोजित बुटक्याम्पले युवाहरूलाई राष्ट्रिय बहस तथा नाट्य प्रशिक्षण प्रदान गरेको हो। कार्यक्रममा कर्णाली, सुदूरपश्चिम, मधेश, बागमती र कोसी प्रदेशका युवाहरू सहभागी थिए।
डीएनएनका प्रबन्ध निर्देशक पीयूष पन्तले बुटक्याम्पमा सहभागी युवाहरूका लागि बहस, कथा वाचन, नाटक र समावेशी नागरिक सहभागिताका विषय समेटिएका सत्रहरू राखिएको जानकारी दिए। उनका अनुसार बुटक्याम्पको उद्देश्य युवालाई व्यावहारिक ज्ञान, सीप र मेन्टरिङमार्फत सक्षम बनाउनु हो। उनले बहस र नाटक भाषण वा प्रस्तुतिका माध्यम मात्र नभई समाजलाई बुझ्ने, अन्यायविरुद्ध प्रश्न गर्ने र सामूहिक काम गर्ने माध्यम भएको धारणा राखे। बुटक्याम्पमा सिकेका कुरा सहभागीहरूले आ–आफ्नो प्रदेशमा गएर अरूलाई सिकाउने उनले बताए।
रङ्ग परियोजनाअन्तर्गत कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा तीन–तीन वटा बहस तथा नाटक क्लब गठन गरिएको छ। ती क्लबका सदस्य तथा विभिन्न क्षेत्रमा सक्रिय युवाहरू बुटक्याम्पमा सहभागी भएका थिए। प्रशिक्षक प्रशिक्षणका रूपमा तयार गरिएको बुटक्याम्पले सहभागीहरूलाई आ–आफ्नो प्रदेशमा युवा सहजकर्ताका रूपमा काम गर्ने अवसर प्रदान गर्नेछ।
डीएनएनकी राष्ट्रिय संयोजक दीक्षा नकर्मीले आगामी दिनमा पनि सहभागीहरूलाई बहस तथा नाटक क्लबका गतिविधिमार्फत जोडिने बताइन्। उनका अनुसार युवाहरूले आफ्ना समुदायमा संवाद, कथा वाचन, आलोचनात्मक सोच तथा युवा सहभागिताका लागि अवसर सिर्जना गर्न सहयोग पुर्याउनेछन्। रङ्ग चौतारीले विभिन्न प्रदेशका युवालाई सिक्न, आत्मचिन्तन गर्न र समुदायमा नेतृत्व गर्न आवश्यक ज्ञान तथा सीप दिएको उनको भनाइ छ। सहभागीहरू आफ्नो समुदायमा युवा प्रशिक्षकका रूपमा फर्किएपछि थप समावेशी संवाद, सिकाइ र नागरिक सहभागिताका अवसर सिर्जना हुने उनले बताइन्।
बुटक्याम्पका क्रममा तर्क निर्माण, आलोचनात्मक विश्लेषण, अनुसन्धान, पाठ्ययोजना निर्माण, शिक्षण शैली, कथा वाचन र छोटा नाटकको स्क्रिप्ट निर्माणसम्बन्धी सत्रहरू सञ्चालन गरिएको थियो। मण्डला थिएटर नेपालको प्राविधिक सहयोग रहेका नाटक तथा कथा वाचनका सत्रमा सहभागीहरूले कथा वाचन, स्क्रिप्ट लेखन र प्रस्तुतिलाई सिर्जनात्मक अभिव्यक्ति, जनचेतना तथा नागरिक सहभागिताका प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्ने अभ्यास गरेका थिए।
क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इसान रेग्मीले बुटक्याम्पमा अन्तरलिङ्गी पैरवीसम्बन्धी सत्र सञ्चालन गरेका थिए। सो सत्रमा सहभागीहरूले नेपालको सन्दर्भमा अन्तरलिङ्गी व्यक्तिका अधिकार, नीतिगत व्यवस्था, सामाजिक चुनौती तथा समावेशिताबारे जानकारी पाएका थिए।
जनकपुरधाम पब्लिक क्लबकी अध्यक्ष सृष्टिकुमारी चौधरीले बुटक्याम्पले आफ्नो आलोचनात्मक सोच र पैरवीसम्बन्धी सीपलाई बलियो बनाएको बताइन्। उनले बहस तथा नाटकमार्फत जनकपुरधामका थप युवाहरूलाई आफ्ना कुरा राख्न, सार्वजनिक मुद्दामा सहभागी हुन र सकारात्मक परिवर्तनमा योगदान गर्न प्रेरित गर्ने प्रतिबद्धता जनाइन्।
रङ्ग परियोजनामार्फत डीएनएनले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारी प्रतिनिधि, संस्था, विश्वविद्यालय, युवा सञ्जाल तथा युवाहरूसँग सहकार्य गर्दै आएको छ। राष्ट्रिय संयोजक नकर्मीका अनुसार परियोजनाले संवाद, नागरिक सिकाइ र सिर्जनात्मक पैरवीका लागि अवसर सिर्जना गर्दै अर्थपूर्ण युवा सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।







