मुख्य सामग्रीमा जानुहोस्

जाजरकोट अस्पतालमा चिकित्सक अभाव, पहिरोपछि बिरामीको चाप बढ्दै

जाजरकोट अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा दैनिक स्वास्थ्य सेवा प्रभावित भएको छ । पहिरो विस्थापितमा स्वास्थ्य समस्या देखिन थालेपछि बिरामीको संख्या बढेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीलाई तत्काल चिकित्सक पठाउन आग्रह…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जाजरकोट अस्पतालमा चिकित्सक अभाव, पहिरोपछि बिरामीको चाप बढ्दै
Online Khabar

३ भदौ, जाजरकोट । जिल्लामा पछिल्लो समय बिरामीको चाप बढ्दै गए पनि जाजरकोट अस्पतालमा चिकित्सकको अभाव कायमै छ । लामो समयदेखि पर्याप्त डाक्टर नहुँदा बिरामीको उपचार प्रभावित हुने गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेकी कार्यदल सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री मंगलबहादुर शाहीलाई तत्काल चिकित्सक पठाउन आग्रह गरेकी छन् । बस्नेतका अनुसार जाजरकोट अस्पतालमा डाक्टरको व्यवस्थापन गरिदिन मुख्यमन्त्रीसमक्ष माग राखिएको हो ।

५० शैय्याको जिल्ला अस्पतालमा नियमित रूपमा कार्यरत डाक्टर नहुँदा दैनिक उपचार सेवा नै प्रभावित छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनले चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या झन् गहिरो बनेको बताए ।

बाढीपहिरोका कारण घाइते भएका र विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको हो । ज्वरो, रुघाखोकी, चोटपटकलगायतका समस्या लिएर आउने बिरामी बढे पनि जनशक्ति अभावका कारण प्रभावकारी सेवा दिन कठिन भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

चिकित्सक नहुँदा आकस्मिक तथा नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवा र उपचारमा समेत असर पुगेको छ । सामान्य उपचारका लागि समेत बिरामीले लामो समय पर्खनुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ । दुर्गम बस्तीबाट उपचारका लागि आउने नागरिकलाई चिकित्सक अभावले थप सास्ती दिएको छ ।

विपद्को जोखिम बढिरहेका बेला अस्पतालमा पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको छ । स्थानीयवासीले दरबन्दीअनुसार चिकित्सक व्यवस्थापन गर्न र विशेषज्ञ सेवा नियमित बनाउन प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । विपद्का बेला उपचारमा थप दबाब पर्ने भएकाले अस्थायी रूपमा भए पनि तत्काल डाक्टर थप्नुपर्ने उनीहरूको भनाइ छ ।

मुख्यमन्त्री शाहीले जाजरकोट अस्पतालमा डाक्टरको व्यवस्थापनबारे आफू गम्भीर रहेको बताएका छन् ।

पहिरो विस्थापितमा ज्वरो र रुघाखोकी

यसैबीच, पहिरोबाट विस्थापित भई विद्यालय र अन्य सुरक्षित स्थानमा आश्रय लिएकाहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ । भेरी नगरपालिका–२ र ३ बाट विस्थापित भई विद्यालयमा बस्दै आएकाहरूमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको हो । स्वास्थ्य जाँचका क्रममा ६९१ जनामा यस्तो समस्या फेला परेको चिकित्सकले बताएका छन् । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी शिविरमा रहेकाहरूमा स्वास्थ्य समस्या देखिन थालेको हो ।

सोमबार भेरी नगरपालिका र कर्णाली प्रदेश अस्पताल, सुर्खेतबाट खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आश्रयस्थलमा रहेका ९० जनाको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो । भेरी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो समय विस्थापितहरूमा ज्वरो र रुघाखोकीका लक्षण देखिन थालेका छन् । खानेपानीका अधिकांश स्रोत प्रदूषित भएकाले सुरक्षित खानेपानीको व्यवस्थापन मुख्य चुनौती बनेको छ ।

भेरी नगरपालिकाका वडा १, २, ३ र ४ का विभिन्न बस्तीमा गएको पहिरोमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सयौँ नागरिक विस्थापित भई विद्यालय तथा अन्य सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् ।

आश्रयस्थलमा वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र सुत्केरी आमासमेत रहेकाले पानीजन्य तथा कीटजन्य रोग फैलिन सक्ने उच्च जोखिम छ । नगरपालिकाले विस्थापित बसेका आश्रयस्थलमा स्वास्थ्य डेस्क स्थापना गरी नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सञ्चालन गरिरहेको छ ।