काठमाडौं — फेसबुकको मूल कम्पनी मेटाले विश्वभर किशोर–किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गराएको दाबी एक नयाँ प्रतिवेदनमा गरिएको छ ।
डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीपी) को प्रतिवेदनअनुसार कुनै देशमा किशोर–किशोरीका लागि सामाजिक सञ्जाल प्रतिबन्धको चर्चा चल्नासाथ मेटाले प्यारेन्टिङ, जीवनशैली र मानसिक स्वास्थ्य क्षेत्रका क्रिएटरहरूलाई अगाडि सार्ने गर्छ । उनीहरूमार्फत मेटाले प्रतिबन्धको सट्टा आफ्ना सुरक्षा सुविधालाई विकल्पका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ ।
प्रतिवेदनमा अस्ट्रेलियालाई पहिलो उदाहरणका रूपमा उल्लेख गरिएको छ । अस्ट्रेलियामा २०२५ डिसेम्बरदेखि १६ वर्षमुनिका किशोर–किशोरीलाई सामाजिक सञ्जालमा रोक लगाउने कानुन लागू भएको थियो । त्यसअघि मेटाले सिड्नीमा ‘इन्स्टाग्राम सेफ्टी क्याम्प’ नामक कार्यक्रम आयोजना गरी अभिभावकीय इन्फ्लुएन्सरहरूलाई बोलाएको थियो । इन्स्टाग्राम ब्रान्डेड टेन्ट, फोटो जोन र स्न्याक्ससहित आयोजित उक्त कार्यक्रममा मेटाले सबै प्रतिबन्ध प्रभावकारी नहुने र आफूसँग किशोरलाई सुरक्षित राख्ने उपकरण भएको सन्देश दिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, इन्डोनेसियामा २०२६ मार्चमा टीन अकाउन्ट प्रतिबन्ध लागू भएपछि मेटाले सुरक्षा शिविर आयोजना गरेको थियो । सो कार्यक्रममा चर्चित अभिनेता डेरियस सिनाथ्रियाजस्ता इन्फ्लुएन्सरलाई इन्स्टाग्रामका सुरक्षा फिचर प्रयोग गर्न आग्रह गराइएको थियो । भारतमा २०२६ फेब्रुअरीमा उमेर–आधारित प्रतिबन्धको चर्चा चलेपछि ‘मम इन्फ्लुएन्सर’हरूले पेड पोस्टमार्फत ‘इन्स्टाग्राम टीन अकाउन्ट’को प्रचार गरेको देखिएको छ । ‘इम्पर्फेक्ट मम् हु ट्राभल्स’ बाट सार्वजनिक भिडियोमा ह्यासट्याग एड ट्याग प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ ।
मेटाका प्रवक्ता एडवर्ड प्याटरसनले भने किशोर–किशोरीलाई सामाजिक सञ्जालबाट बाहिर राख्दा उनीहरू झनै असुरक्षित हुने र समाजबाट अलग भएको अनुभूति हुने तर्क गरेका छन् । त्यसले अन्य समस्या निम्त्याउन सक्ने उनको भनाइ छ । जहाँ मेटाका एप उपलब्ध छन्, त्यहाँ अभिभावक र विज्ञहरूसँग मिलेर सुरक्षा फिचरबारे जानकारी दिने काम भइरहेको उनले बताए ।
टीटीपीकी निर्देशक केटी पलले भनेकी छन्, “मेटाको ब्रान्ड नै समस्या बनेको छ । मानिसहरू कम्पनीमाथि विश्वास गर्दैनन्, त्यसैले यो सन्देश दिन इन्फ्लुएन्सर चाहिन्छ । मेटाले त्यही गरिरहेको छ ।”
अस्ट्रेलियाको इन्टरनेट रेगुलेटरले २०२६ जुनमा गरेको अध्ययनअनुसार प्रतिबन्ध लागू भएको तीन महिनापछि पनि ८० प्रतिशतभन्दा बढी किशोर–किशोरी सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए । मेटाले भने अस्ट्रेलियामा ७ लाख ५६ हजार किशोर खाता हटाएको बताएको छ । यसले गर्दा मेटाको भूमिका नै शंकास्पद देखिएको भन्दै विवाद चुलिएको छ ।







