नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) को निर्वाचन प्रक्रियामा सुधार र सदस्यता व्यवस्थापनको माग राखेर इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले अनलाइन भोटिङ लागू गर्नुपर्ने, सदस्यताको नवीकरण र म्याद थप गर्नुपर्ने तथा निर्वाचन सर्वसम्मतबाट गराउनुपर्ने नारासहित एनईएको केन्द्रीय कार्यालय पुल्चोकमा धर्ना दिएका हुन्।
एनईएको ३५औं केन्द्रीय तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनको तयारी भइरहेका बेला सदस्य संख्याको समीक्षा नगरी निर्वाचन अघि बढाउन नहुने भन्दै केही इन्जिनियरहरूले विरोध जनाएका छन्। संगठनको कुल सदस्य संख्या ४६ हजार रहेकोमा हाल त्यो झन्डै १४ हजार २९४ मा सीमित भएको उनीहरूको भनाइ छ। करिब ३२ हजार सदस्यलाई बाहिर राखेर गरिने निर्वाचनले उचित प्रतिनिधित्व नदिने उनीहरूको तर्क छ।
विगतका निर्वाचनमा मिति निर्धारण, कार्यतालिका, सदस्यता व्यवस्थापन र मतदाता नामावलीका विषयमा सरोकारवालासँग छलफल हुने गरेको स्मरण गर्दै आन्दोलनरत पक्षले यसपटक भने निर्वाचनको मिति र विस्तृत तालिका सार्वजनिक हुनुअघि औपचारिक परामर्श नगरिएको गुनासो गरेको छ। निर्वाचन कार्यतालिका पुनः समीक्षा गरी समयसापेक्ष र समावेशी बनाउन उनीहरूको माग छ।
यता एनईएले भने आगामी असोज २ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। सो तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता भदौ १३ र १४ गते तोकिएको छ।







