३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र बाहिरिएको प्रकरणमा सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।
मुद्दा लाग्नेमा केएमसी कलेज बागबजार र हिमालय कलेज कोटेश्वरमा व्यवस्थापन संकायतर्फ फाइनान्स पढाउने ३३ वर्षीय संदीप सिंह, रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र, बारा घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमी, बाराकै ३० वर्षीय ऋषिकेश प्रसाद यादव, पर्साकी २५ वर्षीया खुश्बु गिरी, पर्साकै २५ वर्षीय देवनाथ महतो र पर्साकै २७ वर्षीया रन्जु कुमारी गिरी छन्।
पक्राउ परेका सिंह, मिश्र र हाकिमी भने धरौटीमा रिहा भइसकेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले उनीहरूलाई जनही दुई हजार रुपैयाँ धरौटी तोक्दै रिहा गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार मंगलबार उनीहरू रिहा भएको सीआईबीका एसएसपी अनुपम शमशेर राणाले बताए।
बाँकी चार जना भने अझै पक्राउ पर्न सकेका छैनन्। उनीहरूलाई फरार प्रतिवादी कायम गरी मुद्दा दर्ता गरिएको छ।
प्रश्नपत्र लिकको घटनामा यीबाहेक अरूको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ। साउन ८ गते एमबीएस प्रथम सेमेस्टरको बिहेबिहार विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै ह्वाट्सएप समूहमार्फत सार्वजनिक भएको थियो। सीआईबीले यस प्रकरणलाई गम्भीर रूपमा लिएर अनुसन्धान गरे पनि पक्राउ परेकाहरू भने दुई–दुई हजार रुपैयाँको धरौटीमै रिहा भएका छन्।







