३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले पूर्वाधार मन्त्री सुनील लम्सालको जिल्ला भ्रमणलाई पूर्वाग्रहका आधारमा हेर्न नहुने बताएका छन्। साढे चार महिनाको अवधिमा लम्साल ५५ जिल्ला पुगेको विषयलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ।
राजनीतिमा मतभेद जतिसुकै भए पनि मानवीय संवेदनालाई ख्याल गर्नुपर्ने भुसालको आग्रह छ। उनले मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीतिभन्दा माथि हुनुपर्ने धारणा राख्दै लम्सालको बचाउ गरेका हुन्।
जनताका समस्या र वास्तविकता बुझ्न लम्साल जिल्ला पुगेको भन्दै स्वास्थ्यमा समस्या देखिएपछि मात्र उनी काठमाडौं फर्किनुपरेको सांसद भुसालले स्पष्ट पारे। यस्तो अवस्थामा अनावश्यक टिप्पणी नगर्न उनले आग्रहसमेत गरेका छन्।
बैतडी पुगेका लम्साललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो। धनगढीबाट भने उनलाई सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको हो।
लम्साल शनिबार अबेर साँझ आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। उनको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाका राजमार्ग तथा पूर्वाधारको अवस्था निरीक्षण गर्न गएको थियो। दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएकै बेला उनी बिरामी परेका हुन्।
हाल लम्साल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।







