कर्णाली प्रदेश सरकार मुख्यमन्त्री नियुक्त भएको तीन सातापछि विस्तार भएको छ । सत्तारुढ नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सुर्खेतमा भएको एक समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पछार्इँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यस्तै, जितबहादुर मल्ल सामाजिक विकास मन्त्री र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन् ।
आजै दिउँसो सत्तारुढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो । भागबन्डाअनुसार एमालेले तीन मन्त्रालय पाएको छ ।
एमालेले आफ्ना मन्त्रीको टुंगो लगाइसके पनि नेकपाले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन ।







