काठमाडौं, ३ भदौ । वीर अस्पतालको नेफ्रोलोजी विभागले मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै हप्तामा चार दिन मात्र सञ्चालन हुँदै आएको ओपीडी अब पाँच दिन सञ्चालन गर्ने निर्णय गरिएको हो ।
अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार, बुधबार र शुक्रबार बिहान तथा दिउँसो दुवै सत्रमा सेवा उपलब्ध हुनेछ । मंगलबार र बिहीबार भने बिहानको सत्रमा मात्र मिर्गौला विशेषज्ञको ओपीडी खुल्नेछ ।
यसअघि मंगलबार ओपीडी सञ्चालन नहुँदा बुधबार बिरामीको भीड अत्यधिक बढ्ने गरेको थियो । मंगलबार मिर्गौला प्रत्यारोपण, राउन्ड र औपचारिक कक्षालगायत चिकित्सकीय तथा शैक्षिक गतिविधि हुने भएकाले ओपीडी बन्द रहने व्यवस्था थियो ।
आइतबार सार्वजनिक बिदा लागू भएपछि भने समस्या अझ बढेको छ । वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट तथा विभागीय प्रमुख डा. अनिल बरालका अनुसार आइतबार सेवा लिन नपाएका बिरामी सोमबार अस्पताल आउने र सोमबारकै परीक्षण तथा रिपोर्ट बोकेर आउने बिरामीसमेत बुधबारको ओपीडीमा थपिँदा भीड चरम बन्न थालेको थियो ।
एकै दिन बिरामीको चाप थुप्रिँदा सेवा व्यवस्थापनमा समेत चुनौती आएपछि विभागले ओपीडी विस्तारको निर्णय गरेको हो । तर, सेवा विस्तारका लागि नयाँ जनशक्ति भने थपिएको छैन । साबिककै जनशक्ति, स्रोत र साधनबाट हप्तामा पाँच दिन सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।
बिरामीको चाप घटाउने उद्देश्यले सेवा विस्तार गरिए पनि अस्पतालको जनशक्ति र स्रोतसाधन भने सीमित रहेको विभागले बताएको छ । आकस्मिक अवस्थाबाहेकका बिरामीले सीमित स्रोत र जनशक्तिलाई ध्यान दिएर सहयोग गरिदिन डा. बरालले आग्रहसमेत गरेका छन् ।







