सरकारले विद्युतमा लगाएको कर फिर्ता गराउन उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान थालेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले आज काठमाडौंको जोरपाटी चोकबाट अभियानको थालनी गरेका हुन्।
घिसिङका अनुसार अभियान सुरु भएको पाँचौँ दिनमा जोरपाटीबाट हस्ताक्षर संकलन थालिएको हो। उनले यो अभियान देशका विभिन्न स्थानमा फैलिएको र विदेशमा रहेका नेपालीहरूले समेत आ–आफ्नै देशमा हस्ताक्षर अभियान सुरु गरेको बताए।
सरकारले विद्युतमा कर लगाएपछि पार्टीले पटकपटक विज्ञप्ति जारी गर्नुका साथै सामाजिक सञ्जालमार्फत आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको घिसिङको गुनासो छ। संसद्मा रहेका दलहरूले पनि यस विषयमा गम्भीरतापूर्वक आवाज नउठाएको उनको भनाइ छ।
यही कारण आम नागरिकको अभिमत बुझ्न हस्ताक्षर अभियान थालिएको उनले बताए। हस्ताक्षर अभियानबाट सिर्जना हुने जनदबाबले सरकारलाई विद्युतमा लगाइएको भ्याट फिर्ता गर्न बाध्य पार्ने विश्वास घिसिङले व्यक्त गरे।







