नेपाल पर्वतारोहण संघ (एनएमए) ले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७०औँ वर्षगाँठ समारोह आयोजना गरेको र नेपालको हिमाली पर्यटनमा पुर्याएको योगदानको कदर गर्दै जापानी राजदूत पुरस्कार प्राप्त गरेको छ।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले बिहीबार नक्सालको नागपोखरीस्थित संघको सचिवालयमा आयोजित एक समारोहमा एनएमए अध्यक्ष फुर गेल्जे शेर्पालाई उक्त पुरस्कार हस्तान्तरण गरे। जापानी राजदूतावासका अनुसार यो पुरस्कार मनास्लुको ऐतिहासिक आरोहणको स्मरणसँगै नेपालको हिमाली पर्यटनमा संघले पुर्याएको व्यापक योगदानको सम्मानका रूपमा प्रदान गरिएको हो।
“एनएमएले आफ्नो स्थापनादेखि नै नेपालको हिमाली पर्यटनको सुधारका लागि उत्कृष्ट सेवा पुर्याउँदै आएको छ र नेपालको हिमाली पर्यटनलाई अर्को तहमा पुर्याउन असंख्य महत्वपूर्ण पहलहरू गरेको छ,” राजदूत माएदाले भने।
एनएमएले गत मे ९ र १० मा गोरखाको समागाउँ र पोखराको रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा ७०औँ वर्षगाँठका कार्यक्रम आयोजना गरेको थियो। मनास्लुको पहिलो सफल आरोहण मे ९, १९५६ मा जापानी आरोही तोसिओ इमानिसी र नेपाली आरोही ग्याल्जेन नोर्बुले गरेका थिए। यो आरोहण हिमाली आरोहणको इतिहासमा कोसेढुङ्गा साबित भयो र नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनायो।
राजदूत माएदाले मनास्लु वर्षगाँठ आयोजनामा एनएमएले प्रस्तुत गरेको विज्ञता नेपालको आरोहण सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण उदाहरण भएको बताए।
पुरस्कार ग्रहण गर्दै अध्यक्ष शेर्पाले जापानी राजदूतावासलाई धन्यवाद दिँदै जापानलाई नेपालको हिमाली पर्यटनको दीर्घकालीन मित्र र सहयोगी बताए।
“जापान नेपालको हिमाली पर्यटनको राम्रो मित्र र ठूलो सहयोगी रहँदै आएको छ। यो प्रतिष्ठित राजदूत पुरस्कार पाउनु हाम्रो सौभाग्य हो,” शेर्पाले भने।
सो समारोहमा जापानी राजदूतावासका अधिकारीहरू, एनएमएका पदाधिकारी, सञ्चालक समिति सदस्य, सल्लाहकार तथा संघका पूर्व अध्यक्षहरूको सहभागिता थियो।
समारोहमा राजदूत माएदाले गत महिना ब्रोड पिकमा आएको हिमपहिरोमा परी मृत्यु भएका आरोहीका परिवार र सहकर्मीहरूप्रति शोक व्यक्त गरेका थिए।







