५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मधेसको नेतृत्वमा ठूलो फेरबदलको संकेत देखिएको छ । समानुपातिक सूचीको तेस्रो स्थानबाट पहिलो स्थानमा पुर्याएर सांसद बनाइएका पुरुषोत्तम यादवलाई सभापति रवि लामिछानेले सहमहामन्त्रीको जिम्मेवारी दिएका छन् । यससँगै पार्टी प्रवेश गरेको आठ महिनामै पुरुषोत्तम मधेसबाट पदाधिकारी बन्ने पहिलो व्यक्ति बनेका छन् ।
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ रास्वपाले नाम निर्वाचन आयोगमा बुझाउँदा मधेस क्लस्टरको पुरुष सूचीमा डा. नन्दन यादव पहिलो, खगेन्द्र कर्ण दोस्रो र पुरुषोत्तम यादव तेस्रो स्थानमा थिए । अन्तिम सूची सार्वजनिक हुँदा भने क्रम उल्टिएको थियो । पहिलो सूचीमा रहेका डा. नन्दन यादव तेस्रो स्थानमा धकेलिँदा पुरुषोत्तम भने पहिलो नम्बरमा पुगे । दोस्रो स्थानका खगेन्द्र कर्ण यथावत् रहे ।
तेस्रो स्थानमा रहेको उम्मेदवार समानुपातिकतर्फ सांसद नहुने विश्लेषणसँगै पुरुषोत्तमलाई पहिलो स्थानमा पुर्याइएको बुझिन्छ । रास्वपाका एक नेताका अनुसार पहिलो नम्बरमा नराखिए सांसद हुन नपाउने डर उनलाई थियो । त्यसैका लागि उनले लबिङ गरेका थिए र सभापतिले सहजै स्वीकारेका थिए । यदि तेस्रो स्थानमै रहेको भए पुरुषोत्तम सांसद बन्ने थिएनन् । त्यो क्लस्टरबाट पहिलो र दोस्रो स्थानका उम्मेदवार मात्रै सांसद बनेका थिए, तेस्रो स्थानका डा. नन्दन यादव भने बाहिरिए ।
पहिलो महाधिवेशनका बेला पुरुषोत्तम केन्द्रीय सदस्यमा उठ्ने मनस्थितिमा थिए । मधेसका एक सांसदका अनुसार सभापतिले मनोनीत केन्द्रीय सदस्य वा मधेस सभापति बनाउने वचन दिएपछि उनी उम्मेदवार बनेनन् । तर, त्यो अपेक्षाभन्दा माथि गएर सहमहामन्त्री बनाइएको ती सांसदले बताए ।
मधेसमा नयाँ समीकरण
पुरुषोत्तम जेनजी आन्दोलनका सुरुवातकर्तामध्ये एक हुन् । सोही आन्दोलनबाट आएका बब्लु गुप्ता र शिव यादव पनि रास्वपा सांसद छन् । ती दुवैलाई पछि पार्दै पुरुषोत्तम पदाधिकारीको जिम्मेवारीमा पुगेका हुन् ।
मधेसका एक सांसदका अनुसार सभापति लामिछानेका लागि अहिले मधेसको मुख्य व्यक्ति पुरुषोत्तम बनेका छन् । सांसदहरूसँगको भेटघाटमा समन्वय गर्नेदेखि संगठनका काममा उनी अघि सर्ने गरेको ती सांसदले बताए । बैठक चलिरहेका बेला पनि पुरुषोत्तम जनकपुरमा कार्यक्रम राखेर मधेसका विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन पुगेका थिए ।
यसअघि रास्वपाको मधेस राजनीति पूर्व प्रवक्ता मनिष झाको पकडमा रहेको विश्लेषण हुँदै आएको थियो । गत महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि भने उनको उपल्लो यात्रा अघि बढ्न सकेको छैन । चुनावको टिकट वितरणका बेला रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंह पनि केन्द्रीय सदस्यसमेत बन्न सकेनन् । पदीय हैसियतका हिसाबले पुरुषोत्तम अहिले मनिषभन्दा माथि पुगेका छन् ।
केन्द्रीय सदस्य कामिनी चौधरीले पुरुषोत्तममा युवा उर्जा र काममा खट्ने बानी भएकाले सभापतिले उनलाई रोजेको बताइन् ।
मधेसका सभापति तपेश्वर यादवलाई पाखा लगाउन पुरुषोत्तमलाई अघि सारिएको पार्टीभित्रको अर्को विश्लेषण पनि छ । तपेश्वर हाल मधेस सभापति तथा सांसद छन् । रास्वपाका एक नेताले तपेश्वरबाट मधेसको संगठन नचल्नेमा सभापति ढुक्क रहेको र अब पुरुषोत्तममार्फत संगठन चलाउने योजना रहेको बताए । पुरुषोत्तम र तपेश्वर दुवै सिरहा–४ का बासिन्दा हुन् ।
मधेसमा दलित समुदायपछि यादव समुदाय जनसंख्याका आधारमा दोस्रो स्थानमा छ । २०७८ को जनगणना अनुसार यादव समुदायको कुल जनसंख्या १२ लाख २८ हजार ५८१ छ । यसमध्ये ठूलो हिस्सा मधेसका जिल्लामा बसोबास गर्छ । मधेसको राजनीतिमा प्रभाव राख्ने यादव समुदायबाट सहमहामन्त्री बनाउनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
अधिवेशनको तयारीमा केन्द्रित
सहमहामन्त्री बन्ने संकेत पाएदेखि पुरुषोत्तम मधेस प्रदेश र जिल्ला सभापति कसलाई बनाउने भन्ने आन्तरिक छलफलमा जुटिसकेका छन् । तर, मधेस प्रदेश समितिको अधिवेशन भने हुन सकेको छैन । पर्साबाहेक अन्य जिल्लामा नयाँ कार्यसमिति चयन हुन सकेको छैन । पालिका र वडा तहका कतिपय स्थानमा विवादका कारण अधिवेशन हुन नसकेको हो ।
अधिवेशनको वातावरण बनाउन सभापति लामिछाने स्वयं मधेसका जिल्लाहरूको भ्रमण गर्ने भएका छन् । जिल्ला भ्रमणमा अब सहमहामन्त्रीका रूपमा पुरुषोत्तम पनि साथै जाने परिस्थिति बनेको छ । रास्वपाका एक नेताका अनुसार पुरुषोत्तमले मधेस सभापतिमा धनुषा–२ का रामविनोद यादवलाई अघि सार्न खोजेका छन् ।
पुरुषोत्तमले इन्जिनियरिङ पढेका छन् भने आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेका छन् । उनले भारतबाट एमबीएसमेत गरेका छन् । रास्वपा प्रवेश गरेको आठ महिना नबित्दै सांसद, पदाधिकारी हुँदै मधेसको नयाँ अनुहार बन्नुले उनको राजनीतिक फड्को स्पष्ट देखाउँछ ।







