मुख्य सामग्रीमा जानुहोस्

गरिमा चौधरी हत्या : अनुसन्धानलाई काम गर्न दिन गृहमन्त्री गुरूङको आग्रह

गृहमन्त्री सुधन गुरूङले गरिमा चौधरी हत्याको अनुसन्धानलाई काम गर्न दिन आग्रह गरेका छन् । उनले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धान प्रक्रियालाई भने आफ्नो बाटोमा अघि बढ्न दिनुपर्ने बताएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गरिमा चौधरी हत्या : अनुसन्धानलाई काम गर्न दिन गृहमन्त्री गुरूङको आग्रह
Online Khabar

६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा नागरिक खबरदारी जरुरी भए पनि अनुसन्धानलाई भने निर्बाध रूपमा काम गर्न दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो आग्रह गरेका हुन् ।

गृहमन्त्री गुरूङले घटनाप्रति सर्वत्र व्यक्त भइरहेको आक्रोशलाई न्यायको पक्षमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । नागरिकले सरकारलाई जवाफदेही बनाउन सक्ने उनले बताएका छन् । 'नागरिकको खबरदारी आवश्यक छ । सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्,' गृहमन्त्रीले फेसबुकमा लेखेका छन्, 'तर, अनुसन्धानलाई आफ्नो काम गर्न दिऔं ।'

गरिमाको हत्यामा संलग्न दोषीलाई कानुनले दिन सक्ने अधिकतम सजाय दिलाउने सरकारको प्रतिबद्धता रहेको उनको भनाइ छ । यसका साथै भविष्यमा यस्ता अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्ने पक्षमा पनि सरकार सचेत रहेको गृहमन्त्रीले उल्लेख गरेका छन् ।

उनका अनुसार सरकारको लक्ष्य एउटा मात्र घटनामा दोषीलाई सजाय गराउनुमा सीमित छैन, हरेक छोरी सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु पनि हो । 'आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं,' उनले लेखेका छन्, 'हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔं ।'

हत्या घटनालाई अत्यन्त संवेदनशील रूपमा लिइएको भन्दै गृहमन्त्री गुरूङले विगतका अनुभव र कमजोरीबाट पाठ सिकेर सचेत रूपमा अनुसन्धान अघि बढाइएको बताएका छन् ।