६ भदौ, काठमाडौं । एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले आफ्नो क्षेत्र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गरेको छ। कम्पनीले श्रीलङ्काको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको जनाएको छ।
सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनीष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।
सम्झौताबारे प्रिक्साका सीईओ शर्माले डायलगजस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताए। उनका अनुसार यो साझेदारी व्यावसायिक दायराभन्दा माथि उठेर नेपाल र श्रीलङ्काबीच प्रविधिको सबल इकोसिस्टम निर्माणमा कोसेढुङ्गा साबित हुनेछ।
कम्पनीले श्रीलङ्काली बजारमा आफ्ना उत्पादनहरू सार्वजनिक गरिसकेको छ। एकीकृत टिङटिङ कम्युनिकेशन सुइटअन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार मुख्य उत्पादन एउटै आर्किटेक्चरमा आधारित छन्। ती उत्पादनले व्यवसायलाई ग्राहकसम्मको पहुँच, स्वचालन, स्केल र ग्राहक बुझाइमा सहयोग पुर्याउने बताइएको छ।
टिङटिङ कनेक्टले संस्थाकै पूर्वाधारभित्र जडान भई 'द बक्स' अन-प्रिमाइस उपकरणमार्फत डेटालाई निकायभित्रै सुरक्षित राखेर सञ्चालन गर्न सकिने सुविधा दिन्छ। यस्तै, टिङटिङ ओम्नीमार्फत ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएससहित विभिन्न डिजिटल च्यानलका ग्राहक संवादलाई एकै स्थानमा ल्याउन सकिन्छ। टिङटिङ ब्रोडकास्टले स्वचालित भ्वाइस कलमार्फत एकै पटक हजारौं ग्राहकसम्म सूचना र रिमाइन्डर पुर्याउने क्षमता राख्छ। यसैगरी टिङटिङ एजेन्ट्सले स्थानीय भाषामा ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने र आवश्यकताअनुसार कुराकानी मानव एजेन्टलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ।
कम्पनीका सेवाहरू हाल नेपालीसहित अङ्ग्रेजी र सिंहली भाषामा उपलब्ध छन्। श्रीलङ्काली बजारलाई थप प्रभावकारी बनाउन कम्पनीले तमिल र सिंहली (श्रीलङ्कन) भाषाका लागि भ्वाइस मोडलिङको काम तीव्र पारेको छ।







