नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यही असोज १६ गते सुरु हुने भनिएको महाधिवेशन प्रक्रिया समयमै सुरु नभए मंसिरपछि पार्टीको वैधानिकतामाथि नै गम्भीर प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् ।
राजनीतिक चिन्तक प्रदीप गिरिको चौथो वार्षिकीको अवसरमा शनिबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका असहमति र विवादको समाधान अदालतभन्दा पार्टीकै आन्तरिक संरचनाभित्र खोज्नुपर्ने धारणा राखे । उनका अनुसार अधिवेशनको तयारी एकातिर भइरहँदा अर्कोतिर असहमति राख्ने कार्यक्रम हुनु र कैयौं नेताहरू रिट दर्ता गर्न अदालत धाउनु उपयुक्त होइन । यस्तो विवादको समाधान पार्टी कार्यालयभित्रकै वार्ताबाट हुनुपर्ने उनको भनाइ छ ।
यद्यपि, सर्वोच्च अदालतसम्म पुग्ने कामलाई निरुत्साहित गर्न नहुने शर्माले बताए । उनले पार्टीका नेताहरू रिट दर्ताका लागि अदालत पुगेको सन्दर्भ पनि उल्लेख गरे । दर्ता भइहालेपछि संवाद र न्यायिक प्रक्रियाबाटै कुरा अघि बढ्ने उनको भनाइ छ । तर, अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्दा सर्वोच्च अदालतले संविधान र राजनीतिक दलसम्बन्धी कानुनका प्रावधानलाई गम्भीरतापूर्वक हेर्नुपर्नेमा उनले जोड दिए । पार्टीका नेताहरूलाई पनि संवैधानिक तथा कानुनी प्रावधानबारे सचेत रहन उनले आग्रह गरे ।
नेपालको संविधानको धारा २६९ को उपधारा ४ ले हरेक राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको शर्माले स्मरण गराए । विशेष परिस्थितिमा थप समय लिन सकिने भए पनि त्यसका लागि पार्टीको विधानमा स्पष्ट व्यवस्था हुनुपर्ने उनको तर्क छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १६ ले पनि महाधिवेशनको अवधि थप गर्दा विधानको प्रावधान र निर्वाचन आयोगको अनुमतिको माग गर्ने उनले बताए । तर, कांग्रेसको विधानमा संविधानले व्यवस्था गरेको थप ६ महिना अवधि जाने प्रावधान नरहेको उनको दाबी छ । कांग्रेसको विधानमा चार वर्ष पूरा भएपछि विशेष परिस्थितिमा एक वर्ष थप्न सकिने व्यवस्था रहेको र सोहीबमोजिम थपिएको एक वर्ष यही मंसिरमा पूरा हुने शर्माले बताए । विधानमा थप ६ महिनाको प्रावधान नभएकाले मंसिरपछि महाधिवेशन सार्न सक्ने कानुनी आधार कांग्रेससँग नरहेको उनको भनाइ छ ।
यसैकारण असोज १६ मा महाधिवेशनको प्रक्रिया सुरु नभएको अवस्थामा मंसिरभन्दा पर पुग्ने विकल्प नरहने र त्यसपछि पुरानो राजनीतिक दलको हैसियतमै गम्भीर प्रश्न उठ्ने शर्माको चेतावनी छ । आफूहरू भने पार्टीभित्रको विवाद अन्त्य गर्दै सबै पक्षलाई साथ लिएर जान तयार रहेको उनले बताए । सबै अग्रजलाई स्वागत गर्न पार्टी कार्यालयको ढोकामात्र होइन, हृदयको ढोका पनि खुला राखेर कांग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा शर्माले जोड दिए ।







