हेटौंडा, भदौ ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले साढे दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक लगानी गर्ने बताएकी छन्। शनिबार हेटौंडा उपमहानगरपालिका–८ स्थित उद्योगमा पुगेर निरीक्षण गर्दै उनले उद्योग सञ्चालनका लागि सरकार तयार रहेको जानकारी दिइन्।
निरीक्षणका क्रममा उद्योग कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि मन्त्री यादवले बताइन्। उनले नेपाली सेनाका अधिकारीहरूसँग उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिइन्।
निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता क्वुरललगायत सहभागी थिए। टोलीले उद्योगका ४८८ तानमध्ये हाल १२ वटा मात्र सञ्चालनमा रहेको पाएको थियो।
मन्त्री यादवले कपडा उद्योगको वर्तमान अवस्था, सञ्चालनमा देखिएका चुनौती, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफल गरिन्।
साढे दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योगमा तीन साताअघि परीक्षण उत्पादन सुरु भएको थियो। सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि साउन २३ गते दुई वटा तान सञ्चालन गरेर प्रारम्भिक परीक्षण उत्पादन गरिएको थियो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन ठप्प भएको उद्योग २०५७ सालमा पूर्ण रूपमा बन्द भएको थियो।
२०५९ सालमा तत्कालीन सरकारले उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो। बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण नगरिनु, लोडसेडिङको समस्या, आवश्यकताभन्दा बढी जनशक्तिका कारण परेको आर्थिक भार र कमजोर व्यवस्थापकीय क्षमताले यो ऐतिहासिक उद्योग धराशायी बन्न पुगेको थियो।







