नेपाली तथा मैथिली साहित्यका स्रष्टा, समालोचक र राष्ट्रिय एकताका अभियन्ता डा. राजेन्द्रप्रसाद विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। यही साउन २५ गते राति उनले महाप्रस्थान गरेका हुन्। ‘मानल जे झञ्झा…’ जस्ता कालजयी रचनाका स्रष्टा विमल जीवनका अन्तिम समयसम्म सङ्घर्ष, चिन्तन र साधनाको बाटोमा सक्रिय रहेको चिनेकाहरू बताउँछन्।
डा. विमल केवल लेखक र अनुसन्धानकर्मी मात्र थिएनन्; उनी उच्चकोटिका शिक्षाविद् र प्राध्यापक पनि थिए। दशकौंसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै उनले हजारौं विद्यार्थीलाई ज्ञान र नैतिकताको मार्ग देखाएका थिए। नेपाली विषयका प्राध्यापक विमलले नेपाली, हिन्दी र मैथिलीमा स्नातकोत्तर गरेका थिए भने बनारस विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि हासिल गरेका थिए। पछिल्लो समय उनी बुद्ध दर्शनका विद्यार्थी पनि थिए। संस्कृत, अङ्ग्रेजी, हिन्दी र उर्दूमा धाराप्रवाह बोल्न सक्ने विमलको विद्वतालाई उनका साथी र शुभचिन्तकहरू अद्भुत मान्थे।
श्रद्धाञ्जली र स्मरण
डा. विमलको निधनले नेपाली तथा मैथिली साहित्य, मैथिली भाषा–संस्कृति र समग्र प्राज्ञिक जगत्मा गहिरो क्षति पुगेको छ। उनका ज्येष्ठ सुपुत्र डा. आभाष लाभले पिताको प्रस्थानबाट परिवार दुःखी भए पनि उहाँप्रति समाजको बुझाइ निकै फराकिलो रहेकाले धैर्यधारण गर्न बल पुगेको बताएका छन्। ‘अब यो विराट दायित्व समाजले पूरा गर्नुपर्छ,’ उनले भनेका छन्।
त्रिभुवन विश्वविद्यालयका मैथिली विषयका प्राध्यापक श्यामसुन्दर शशिले विमल सबैका लागि आचार्यका रूपमा स्थापित भएको स्मरण गरे। ‘कुनै समस्या सिर्जना हुँदा समाधान दिने विमल अब हामीबीच छैनन्; कम्तीमा जनकपुरको भूमिमा त्यस्तो आचार्यत्व बोध गराउने कोही पनि छैनन्,’ उनको भनाइ छ।
प्राज्ञ रमेशरञ्जन झाले विमलले अनेकौं साहित्यकारको निर्माण गरेको बताएका छन्। जनकपुरको भूमिमा कार्यशाला शैलीको कविगोष्ठीको प्रयोग गरेर उनले प्रतिभा प्रस्फुटन गराएको झाले स्मरण गरे। ‘उनको प्रस्थानले नेपाली साहित्य, मैथिली भाषा–संस्कृति र प्राज्ञिक जगत्मा निकट भविष्यमा नपुरिने खाडल खडा गरेको छ,’ उनले थपे।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले विमलको ज्ञानको कहिल्यै मापन नहुने बताउँदै राज्यले उनको ज्ञानको उचित सम्मान र मूल्याङ्कन नगरेको गुनासो गरेका छन्। ‘उनी महाज्ञानी थिए। उनको अवसानले सिर्जना गरेको ज्ञानको रिक्तता लामो समयसम्म बोध भइरहनेछ,’ चौधरीको भनाइ छ।
भाषिक सद्भाव र राष्ट्रिय एकताको चिन्तन
डा. विमलका रचनामा सामाजिक यथार्थ, मानवीय संवेदना, सांस्कृतिक गर्व र दार्शनिक चेतनाको सुन्दर सङ्गम पाइन्छ। उनले आफ्ना लेखनीमार्फत ग्रामीण जीवन, किसान, श्रमिक र सीमान्तकृत वर्गका पीडालाई स्वर प्रदान गरेका थिए। दाइजो प्रथा, बेरोजगारी र सत्ताप्रति उनका रचनामा तिखो व्यङ्ग्य भेटिन्छ, तर अभिव्यक्तिमा भने सौम्यता र सभ्यता कायम राख्ने गर्थे।
मैथिली मातृभाषी भए पनि उनी नेपाली भाषाप्रति अगाध प्रेम राख्थे। दुवै भाषाबीच सन्तुलन कायम गर्दै उनले भाषिक सद्भावको यात्रा अगाडि बढाएका थिए। बहुभाषिक र बहुसांस्कृतिक नेपालमा भाषाबीचको सद्भाव नै राष्ट्रिय एकताको मूल आधार हो भन्ने उनको बुझाइ थियो। ‘भाषा र साहित्यले मानिसलाई जोड्नुपर्छ, तोड्नुहुँदैन। राष्ट्रलाई एकताको मालामा उन्नुपर्छ,’ उनी भन्ने गर्थे।
भौतिक रूपमा उनी अब हामीबीच नरहे पनि उनले छाडेर गएको साहित्यिक, वैचारिक र नैतिक विरासतले आगामी पुस्तालाई निरन्तर प्रेरणा दिने चिनेकाहरूको विश्वास छ।







