मुख्य सामग्रीमा जानुहोस्

मिक्लाजुङको काखमा लेखगाउँ : कुहिरो, ताल र हरियालीको मनोरम दृश्य

मिक्लाजुङ पहाडको काखमा अवस्थित लेखगाउँमा साना घर, कुहिरोले ढाकिने ताल र हिमाली दृश्य देख्न पाइन्छ। राँके–रवि–भेडेटार सडक कालोपत्रे भए यो क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने स्थानीय सञ्जय राई बताउँछन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मिक्लाजुङको काखमा लेखगाउँ : कुहिरो, ताल र हरियालीको मनोरम दृश्य
Online Khabar

६ भदौ, पाँचथर । मिक्लाजुङ गाउँपालिका–७ को गुदाला भोजोला तालमा बिहानीपख कुहिरोको तह जम्मा हुन्छ। केही क्षण तालको पानी स्पष्ट देखिन्छ, तर कन्याटारतर्फबाट बग्दै आएको कुहिरोले फेरि पोखरीलाई पुरै ढाक्न पुग्छ। वर्षायामको हरियाली र पहाडी वातावरणमा यो दृश्य निकै सुहाउँदो देखिन्छ।

मिक्लाजुङ पहाडकै काखमा थुम्किला पहाडसँगै रहेको लेखगाउँमा साना चिटिक्क परेका घरहरू छन्। डाँडाले घेरिएको ताल, बस्तीको ग्रामीण जनजीवन र यहाँको संस्कृति आगन्तुकलाई आकर्षित गर्छ। ‘वाचिपा’ जस्ता रैथाने पक्षले पनि यो ठाउँ विशेष बनेको छ।

मिक्लाजुङ पहाडलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यसै पहाडको नामबाट पाँचथर र मोरङका दुई गाउँपालिकाको नामकरण गरिएको छ। शान्त मौसममा केही दिन बिताउन, प्रकृतिको सान्निध्यमा रहेर मन हल्का बनाउन चाहनेहरूका लागि यो उपयुक्त स्थान रहेको बताइन्छ।

राँके–रवि–भेडेटार सडक क्षेत्रमा अवस्थित यो बस्ती सदरमुकाम फिदिमबाट भने निकै टाढा छ। धनकुटाको भेडेटारदेखि करिब पाँच किलोमिटर पहाडी बाटो यात्रा गरेपछि लेखगाउँ पुगिन्छ।

पर्यटकीय सम्भावना

यो सडक कालोपत्रे भएमा लेखगाउँको विकासले गति लिने स्थानीय सञ्जय राई बताउँछन्। उनका अनुसार हिउँ परेको समयमा मिक्लाजुङ दर्शन गर्न ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गर्छन्। तराई क्षेत्रदेखि पनि नजिक रहेकाले सडक कालोपत्रे सम्पन्न भए यो ठाउँ आन्तरिक पर्यटकको महत्वपूर्ण गन्तव्य बन्ने उनको भनाइ छ। स्थानीयस्तरमा पर्यटकीय पूर्वाधार विकास र प्रवर्द्धनका प्रयास भइरहेको पनि राईले जानकारी दिए।

लेखगाउँ वरपरका प्राकृतिक संरचना, सामाजिक परिवेश, खेती प्रणाली र ग्रामीण बसोबासको झल्को धेरैलाई आकर्षक लाग्ने गरेको छ। कुम्भकर्ण र मकालु हिमालको दृश्य, गुदाला भोजोला र छत्रे भोजोला ताल तथा फराकिला खेल मैदानहरू यहाँका प्रमुख आकर्षण हुन्। बेलासी यहाँ पाइने विशेष प्रकारको फल हो। वनक्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गी पाइने गर्दछ।