६ भदौ, काठमाडौं । राजनीतिक चिन्तक प्रदीप गिरिको चौथो वार्षिकीका अवसरमा सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उनलाई चरम आलोचना तथा समर्थनभन्दा माथि उभिएर विचार राख्ने नेताका रूपमा स्मरण गरेका छन्।
सभापति थापाका अनुसार पार्टीभित्र हाल आलोचना र निन्दाबीचको भिन्नता नै छुट्याउन नसकिने र कुनै प्रश्न नरहने गरी पूर्ण समर्थन गर्ने प्रवृत्ति छ। तर, नेता गिरि भने यी दुवै प्रवृत्तिभन्दा फरक रहेको उनले बताए।
'हामी एक चरमबाट अर्को चरममा पुग्ने गरेका छौं। कतै आलोचनालाई निन्दासम्म पुर्याइन्छ, कतै प्रश्नै नउठ्ने गरी समर्थन गरिन्छ। तर, प्रदीप गिरि यी दुवै अवस्थाभन्दा माथि हुनुहुन्थ्यो।'
पार्टीका बैठकहरूमा नेता गिरिसँगै काम गरेको अनुभव सुनाउँदै थापाले अन्य नेताहरूको धारणा पहिल्यै अनुमान गर्न सकिने तर गिरिको हकमा भने त्यो सम्भव नरहेको स्मरण गरे।
'अरू नेताहरूको बारेमा के बोल्छन् भन्ने अनुमान गर्न सकिन्थ्यो। तर, प्रदीप गिरि बोल्न उठ्दा के भन्नुहुन्छ भन्ने कसैलाई थाहा हुँदैनथ्यो।'
सभापति थापाले गिरिको स्वतन्त्र विचार र वैचारिक स्वभावले नै उनलाई सबैका बीचमा छुट्टै पहिचान दिलाएको बताए। उनी भित्रैदेखि बोल्ने र आफ्ना निश्चित सिद्धान्तमा अडिग रहने नेता भएको पनि थापाले उल्लेख गरे।







