मुख्य सामग्रीमा जानुहोस्

पोखरामा मोटरसाइकल पोल र बसमा ठोक्किएर एक जनाको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल पहिले विद्युत् पोलमा र त्यसपछि बसमा ठोक्किएपछि घटना भएको हो । घाइते मोटरसाइकल चालकको उपचार भइरहेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पोखरामा मोटरसाइकल पोल र बसमा ठोक्किएर एक जनाको मृत्यु
Online Khabar

कास्कीको पोखरामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर त्यसपछि बसमा जा लाग्दा यो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल पहिले सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो । सोही क्रममा पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा पनि सो मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २९ वर्षीया रूपा बिक गम्भीर घाइते भइन् । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । रूपा पोखरा महानगरपालिका–१८ की बासिन्दा हुन् ।

यस्तै, दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बिक पनि गम्भीर घाइते भएका छन् । उनको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी, दुर्घटनामा संलग्न बसका चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।