६ भदौ, महोत्तरी । नेपाल र भारतका सीमावर्ती प्रशासन तथा सुरक्षा अधिकारीहरूले सीमापार हुने अपराध र अवैध क्रियाकलाप नियन्त्रणमा मिलेर काम गर्ने सहमति गरेका छन् ।
शनिबार महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध कारोबार, तस्करी नियन्त्रण, मानव बेचबिखन, अवैध आप्रवासन र सीमा स्तम्भ व्यवस्थापनलगायतका विषय समेटिएका थिए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतको सीतामढीका डीएम तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा बसेको बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था र प्रगतिबारे पनि समीक्षा गरिएको थियो ।
महोत्तरी, सर्लाही र रौतहटका प्रशासन तथा सुरक्षा निकायका अधिकारीहरू र भारतको सीतामढीबाट आएका सुरक्षा अधिकारी तथा प्रतिनिधिहरू बैठकमा उपस्थित थिए ।
सीमापार हुने लागुऔषधको अवैध कारोबार नियन्त्रणलाई बैठकले प्राथमिकतामा राखेको अधिकारीहरूले बताएका छन् । अपराध तथा तस्करी नियन्त्रण, अवैध हतियार र गोलीगठ्ठाको ओसारपसार रोक्ने तथा चोरीका सवारीसाधन र सम्पत्ति सीमापार हुन नदिने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्ने सहमति भएको महोत्तरीका प्रजिअ यादवले जानकारी दिए ।
आवश्यकता अनुसार सम्बन्धित निकायबीच सूचना आदानप्रदान गर्ने र संयुक्त टोलीमार्फत निगरानीका प्रयास अघि बढाउने विषयमा पनि छलफल भएको उनले बताए ।
बैठकमा नेपाली अधिकारीहरूले मल लिन भारत जाँदा नेपाली किसान पक्राउ परेको विषय उठाएका थिए । भारतीय पक्षले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने र आगामी दिनमा सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रजिअ यादवले बताए ।







