काठमाडौं, भदौ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि थालेको 'नागरिक, नीति र नेतृत्व' कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन् । उनले सो कार्यक्रममा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तय भएको छ ।
रास्वपा केन्द्रीय कार्यालयमा सोमबार साँझ आयोजना हुने कार्यक्रममा गृहमन्त्री गुरुङ उपस्थित हुने पार्टीले जनाएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ ।
पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा सिधै गृहमन्त्रीसमक्ष राख्न पाउनेछन् । दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक र नीतिगत विषयमा छलफल हुनेछ ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको रास्वपाले बताएको छ ।







