नेपालमै पहिलोपटक आयोजना भइरहेको पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी दीपक थापाले शानदार सुरुवात गरेका छन् । भदौ ६ गते सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पुरुष एकलतर्फको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ सेटले पछि पारे ।
खेलको पहिलो सेट ११–७ ले जितेका दीपकले दोस्रो सेट भने ९–११ ले गुमाए । त्यसपछि तेस्रो र चौथो सेट लगातार ११–४, ११–४ ले आफ्नो पक्षमा पार्दै खेल आफ्नो नाममा गरे ।
सोही दिनका अन्य खेलमा मलेसियाका अबिनाश अनबुसुले नेपालका सरोज लामालाई सोझो सेटमा ३–० ले पराजित गरे । यस्तै श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई ३–० को सेटमा हराए ।
नेपाल स्क्वास र्याकेट संघको आयोजनामा भइरहेको यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका गरी १६ खेलाडी सहभागी छन् । प्रतियोगिता भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।
कुल १ हजार अमेरिकी डलर पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ४०० डलर तथा उपविजेताले २०० डलर प्राप्त गर्नेछन् । सेमिफाइनल र क्वार्टरफाइनलसम्म पुग्ने खेलाडीले पनि नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ ।







