उज्यालो नेपाल पार्टीले विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगकर्ताको ठूलो बक्यौता असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान थालेको छ। पार्टीले यो अभियानमार्फत सरकारलाई दबाब दिने जनाएको छ।
पार्टीका अनुसार विद्युत् क्षेत्रका दुई मुख्य विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले अभियान सुरु गरिएको हो — सर्वसाधारण उपभोक्तामाथिको करको भार घटाउने र ठूला बक्यौता रकम असुली सुनिश्चित गर्ने।
रामेछापको मन्थलीमा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले विद्युत् जस्तो आधारभूत सेवामा थप कर लगाएर सरकारले सर्वसाधारणको आर्थिक भार बढाएको आरोप लगाए। विद्युत् उत्पादन बढ्दै गइरहेको अवस्थामा सरकारले खपत प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।
घिसिङले विद्युत् सस्तो र सर्वसुलभ बनाउनुपर्ने बताउँदै उद्योग, कृषि, यातायात र घरायसी प्रयोगमा यसको उपयोग विस्तार गर्नुपर्ने बताए। उनले डेडिकेटेड र ट्रंक लाइन प्रयोगकर्ताहरूको बक्यौता तुरुन्त असुल गर्न पनि माग गरे।
“सर्वसाधारण उपभोक्ताबाट विद्युत् महसुल नियमित उठाइन्छ, तर ठूलो रकमको बक्यौता उठाउन ढिलाइ गर्नु हुँदैन,” घिसिङले भने।
पार्टीले विद्युत्मा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल गर्न सरकारमाथि दबाब बनाउन देशभर हस्ताक्षर सङ्कलन गरिरहेको जनाएको छ। अभियानपछि सङ्कलित हस्ताक्षर सरकारलाई बुझाएर मागको कार्यान्वयनका लागि दबाब दिने पार्टीको योजना छ।







