मुख्य सामग्रीमा जानुहोस्

गत आव म्याग्दीमा १९ पर्यटन पूर्वाधार योजना पूरा, ४.१९ किलोमिटर पदमार्ग निर्माण

एकीकृत सेवा कार्यालय म्याग्दीले गत आवमा सञ्चालन गरेका १९ पर्यटन पूर्वाधार योजना सम्पन्न भएका छन्। ती योजनामार्फत जिल्लाका विभिन्न स्थानमा ४.१९ किलोमिटर पदमार्ग निर्माण भएको छ। चालु आवका लागि गण्डकी प्रदेश सरकारले २४…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गत आव म्याग्दीमा १९ पर्यटन पूर्वाधार योजना पूरा, ४.१९ किलोमिटर पदमार्ग निर्माण
Online Khabar

७ भदौ, म्याग्दी । एकीकृत सेवा कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका पर्यटन पूर्वाधार आयोजनाबाट जिल्लाका विभिन्न क्षेत्रमा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ ।

कार्यालयका अनुसार सो अवधिमा पर्यटन पूर्वाधार निर्माणसँग सम्बन्धित २४ वटा योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । सो मध्ये रु एक करोड १० लाख लागतका १९ वटा योजना पूरा भएका हुन् । प्रतिकूल भूगोल, मौसम र अन्य कारणवश रु ३० लाख बजेटका पाँच वटा योजना भने कार्यान्वयन हुन सकेनन् ।

कार्यालय प्रमुख सम्झेर घर्ती क्षेत्रीले सम्पन्न योजनामार्फत पर्यटकीयस्थलहरूमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल तथा पर्खालजस्ता संरचना निर्माण भएको बताए । उनका अनुसार सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो । पूर्वाधार तयार भएसँगै पर्यटक, स्थानीयवासी तथा पर्यटन क्षेत्रमा काम गर्ने मजदुरको आवतजावत सहज भएको छ ।

निर्माण भएका पदमार्गमध्ये मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग र प्रभुचेला धार्मिक स्थलमा तीन कोठे आश्रयस्थल छन् । मालिका–४ को गौखेरेबाट मतौका चनौटे र वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग पनि निर्माण भएको छ । बेनी नगरपालिका–९ को ढाडापधेरा आरोटा, पाखाथर र ८ को बराहपाखोमा पदमार्ग बनेका छन् भने १ को सनातन धार्मिक आश्रम र २ को लभ्लीहिलमा घेराबार गरिएको छ ।

यस्तै, मङ्गला गाउँपालिका–४ को गम्फाधुरी र धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ क्षेत्रमा पदमार्ग निर्माण सम्पन्न भएको छ । रघुङ्गा गाउँपालिका–३ को गलेश्वरदेखि बगैचा, ५ र ६ को फुलडाडामा पदमार्ग तथा ३ को गायत्री मन्दिरमा सत्तल निर्माण भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना, ७ को टिकोटबाट सोबन्ध, १ मारका, ६ चित्रे हुँदै घान्द्रुक देउराली र ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग पनि तयार भएका छन् ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि गण्डकी प्रदेश सरकारले म्याग्दीका २४ वटा योजनामा रु एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । बजेट प्राप्त योजनाको सर्वेक्षण, लागत अनुमान तयार गरी उपभोक्ता समिति गठन गर्ने काम भइरहेको कार्यालयका इञ्जिनियर सुमन बोगटीले जानकारी दिए ।