मुख्य सामग्रीमा जानुहोस्

मलेसियामा सूचीकृत २५ म्यानपावरसँग सरकारको आज छलफल

मलेसिया सरकारले आफ्नो नयाँ प्रणालीमा नेपालका २५ म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरेको छ। त्यसपछि श्रम मन्त्रालयले सोमबार उनीहरूसँग छलफल गर्ने भएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मलेसियामा सूचीकृत २५ म्यानपावरसँग सरकारको आज छलफल
Online Khabar

काठमाडौं, ७ भदौ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा श्रमिक पठाउन सूचीकृत भएका २५ म्यानपावर कम्पनीलाई आज (सोमबार) छलफलका लागि बोलाएको छ। मलेसिया सरकारले वैदेशिक रोजगारीका लागि नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरी सीमित गर्न खोजेको विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ।

वैदेशिक रोजगार व्यवसायी संघको रोहवरमा ती म्यानपावरलाई बोलाइएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए। उनका अनुसार संघको प्रतिनिधि र २५ म्यानपावर कम्पनीबीच बसेर उनीहरूको धारणा बुझिनेछ। “संघमार्फत् नै उनीहरूलाई बोलाएका हौं,” प्रवक्ता घिमिरेले भने।

मलेसियाको मानव संसाधन मन्त्रालयले २२ अगस्ट (शनिबार) देखि ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा नेपालसहित दस देशका म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ। प्रणालीमा सूचीकृत कम्पनीमार्फत मात्रै मलेसियाले विदेशी श्रमिक भर्ना गर्न पाउने व्यवस्था छ।

सो सूचीमा नेपालबाट २५, बंगलादेशबाट २५, कम्बोडियाबाट २३, भारतबाट १०, म्यानमारबाट १०, पाकिस्तानबाट १०, फिलिपिन्सबाट ४३५, श्रीलंकाबाट २५८, थाइल्यान्डबाट १ र भियतनामबाट ९१ वटा कम्पनी सूचीकृत छन्।

मलेसियाले यो सूची सार्वजनिक गरेपछि श्रममन्त्री रामजी यादवले शनिबार नै नेपालका लागि मलेसियाली कार्यबाहक राजदूतलाई बोलाएर छलफल गरेका थिए।