मुख्य सामग्रीमा जानुहोस्

मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न नेकपाद्वारा ह्विप जारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। राप्रपाभित्रको विवाद र नेकपाभित्र मन्त्री पठाउने विषयको मतभेदबीच प्रदेशसभाको अंकगणित केन्द्रविन्दुमा छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न नेकपाद्वारा ह्विप जारी
Online Khabar

हेटौंडा, ७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन आफ्ना सबै सांसदलाई निर्देशन जारी गरेको छ। पार्टीले भदौ ८ गते बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।

नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री थापामगरले संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने जानकारी दिएका छन्। सो प्रस्तावमाथि छलफल गर्न भदौ ८ गते दिउँसो १ बजे बस्ने बैठकमा सबै सांसद उपस्थित हुनुपर्ने निर्देशन विज्ञप्तिमा छ। प्रदेशसभामा नेकपाका २६ जना सांसद छन्।

विश्वासको मतको विषयमा छलफल गर्न आइतबार नेकपा संसदीय दलको बैठक बसेको थियो। तर, सरकारमा मन्त्री पठाउने विषयमा पार्टीभित्र देखिएको मतभेदका कारण असन्तुष्ट सांसदहरू बैठकमा सहभागी नभएको बताइएको छ।

बागमतीमा नेकपा एमालेका थापा मगर गत भदौ ४ गते एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थिए। राप्रपाले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेको छ। सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई पनि आइतबार स्पष्टीकरण सोधिएको छ।

राप्रपाभित्रको विवादकै बीच मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन्। राप्रपाका १२ सांसद विश्वासको मतको पक्ष वा विपक्षमा उभिने भन्ने स्पष्ट नहुँदा उनीहरूको उपस्थिति राजनीतिक चासोको विषय बनेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ। सत्ता साझेदार दुई दलभित्रकै विवादका कारण प्रदेशसभाको अंकगणितमाथि सबैको ध्यान केन्द्रित भएको छ। आइतबारको घटनाक्रमले बागमती सरकारको स्थायित्व निर्धारण गर्ने महत्त्वपूर्ण चरण बन्ने देखिएको छ।