भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीहरू नआत्तिन आग्रह गर्दै सरकार आफैँले उनीहरूलाई लालपुर्जा उपलब्ध गराउने बताएकी छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ७ भदौमा आयोजित अन्तरक्रियामा उनले सुकुमवासीहरूलाई लालपुर्जा दिने सरकारको तयारी रहेको जानकारी गराइन्।
मन्त्री रावलका अनुसार यसका लागि कानुनी व्यवस्थामा आवश्यक परिमार्जन भइसकेको छ र लालपुर्जा वितरणको बाटो पनि खुलिसकेको छ। जिल्ला भूमि समितिले तीव्रताका साथ काम थालेर सुकुमवासीलाई लालपुर्जा दिने उनले बताइन्।
मुलुकभरका सुकुमवासीको समस्यालाई सम्बोधन गर्न ऐनमा थप सुधार गर्नुपर्ने उनको भनाइ छ। अहिलेको कानुनमा देखिएका बाधाले समस्या समाधानमा कठिनाइ भइरहेकाले त्यसलाई सच्याएर अघि बढ्ने र सरकार यसमा तत्पर रहेको उनले स्पष्ट पारिन्।
‘तपाईंहरू हाल बसिरहनुभएको ठाउँबाट सरकारले विस्थापित गर्दैन। लालपुर्जा उपलब्ध गराउने दायित्व सरकारकै हो,’ रावलले भनिन्।
उनले सुकुमवासीहरूलाई यस विषयमा अफवाहमा नलाग्न पनि आग्रह गरिन्। भूमिहीन सुकुमवासीको समस्या सरकारको प्राथमिकतामा रहेको उनले बताइन्।
बिहानैदेखि कञ्चनपुरका विभिन्न पालिकामा पुगेर मन्त्री रावलले भूमिहीन सुकुमवासीहरूसँग भेट र अन्तरक्रिया गरेकी थिइन्। दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा उनले लालपुर्जा पाउने आश्वासन दिइन्।
सोही अवसरमा उनले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा–चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकनसमेत गरिन्।







